अभिव्यक्ति स्वतन्त्रतामा जोड दिँदै सुर्खेतमा पत्रकार महासंघको स्थापना दिवस मनाइयो

अभिव्यक्ति स्वतन्त्रतामा जोड दिँदै सुर्खेतमा पत्रकार महासंघको स्थापना दिवस मनाइयो

सुर्खेत । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि आफ्नो स्थापनाको ७१औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा महासंघले देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ।

यसै क्रममा सुर्खेतमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आयोजना तथा सुर्खेत शाखाको समन्वयमा प्रभातफेरीसहितको कार्यक्रम सम्पन्न भएको छ। मङ्गलगढी चोकबाट सुरु भएको प्रभातफेरी पिपल चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले महासंघले नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा श्रमजीवी पत्रकारको हकहितका लागि निरन्तर रूपमा काम गर्दै आएको बताउनुभयो।

यस्तै, महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले मानव अधिकारको रक्षा, सूचनाको हकको संरक्षण तथा जिम्मेवार पत्रकारितामार्फत लोकतन्त्र सुदृढीकरण महासंघको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो।

कार्यक्रम नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिव गोविन्द खत्रीले सञ्चालन गर्नुभएको थियो भने शाखाका कार्यवाहक अध्यक्ष सुशील खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रदेश समिति र जिल्ला शाखाका पदाधिकारी, सदस्यहरु तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार