असार ३ रुकुम पश्चिम
चौरजहारी नगरपालिका, सोती घटनामा अभियोग लागेका प्रतिवादीको बयान रुकुम अदालतमा जारी छ । सोमबारदेखि शुरु भएको बयानअन्तर्गत आज थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको छ ।
यससँगै आजसम्म २१ जनाको बयान सकिएको छ । पक्राउ परेकामध्ये अब आठ प्रतिवादीको मात्र बयान बाँकी रहेको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । सोमबार दुई नाबालक र मङ्गलबार नौ जनाको बयान सकिएको थियो ।
प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ । ‘पक्राउ परेका प्रतिवादीहरुको बयान भोलि (बिहीबार)सम्ममा सकिने देखिएको छ,’ उनले भने– ‘बयान सकिएलगत्तै थुनछेक बहस शुरु हुने छ, समय भए भोलिबाटै पनि थुनछेक बहस शुरु हुन सक्छ ।’