रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ साेती घटनाका प्रतिबादीमध्ये पक्राउ परेका २९ जना सबैको बयान आज बिहीबार सकिएको छ।
अधिवक्ता रामचन्द्र गौतमका अनुसार बिहीबार २९ जना प्रतिवादीको बयान सकिएको हो।
जाजरकोटका नवराज विक सहित ६ जनाको ज्यान जाने गरी भएको चौरजहारीको सोती काण्डमा ३४ जना प्रतिवादीविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यसमा चौरजहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका अभिभावक लगायतका २९ जना पक्राउ परेका छन्।
प्रतिवादीमध्ये ५ जना भने फरार छन्। यसअघि नै नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरी र अर्का एक बालकको समेत थुनछेक बहस पूरा भई उनीहरूलाई बालसुधारमा राख्न आदेश भइसकेको छ।
तीबाहेक वडाध्यक्ष, केटीका अभिभावकसहित अन्य २७ जनाको शुक्रबारदेखि थुनछेक बहस हुने भएको छ ।