असार १३ काठमाडौ
पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको जेठ २० गते निधनपछि शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
शव व्यवस्थापनमा खटिएका ३३ र ३६ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाको गोरखदल गणले जनाएको छ ।
१८ गते जल्पाको क्वारेन्टाइनमा पुगेका ४५ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते नै तानसेनको मिसन अस्पतालमा थप उपचारका लागि पठाइएको थिए । तर उनको जेठ २० गते निधन भए पनि २२ गते मात्र शव व्यवस्थापन गरिएको थियो ।
कोरोना भाइरस पुष्टि भएकाको शव व्यवस्थापनमा खटिएकालाई सोही दिनदेखि नै सुरक्षित आइसोलेसनमा राखिएको गणले जनाएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या ४ सय ४६ पुगेको छ ।