काठमाण्डौ । दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती आजदेखि सुरु हुनेभएको छ । एक महिना लगातार भएका उद्धार उडानहरु दुई दिन रोक्दै सरकारले फेरि आजदेखि उद्धार उडान सुरु गरेको हो । यसअघि उडानको समिक्षा गर्न भन्दै दुई दिन उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि उद्धार उडान तालिका सार्वजनिक भएको छ । यो हप्तामा विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न देशबाट ४२ उडान हुने पर्यटन मन्त्रालयले जनाएको छ । आजै नेपाली ल्याउन, लिन जान र कार्गो गरी ६ अन्तर्राष्ट्रिय उडान हुने भएका छन् ।
नेपाल एअरलाइन्स कुनमिङ्गबाट, सिल्क एअर सिङ्गापुरबाट र मलेसियन एअरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् । आज यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एअरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज आजै कुनमिङ्ग जाँदैछ ।
एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एअरले १६ वटा र नेपाल एअरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबियाले २, फ्लाई दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।
जजिरा एअरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ । नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसिया लगायतका ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।
साउन ६ पछि भने अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।
नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायतले उडान भरेका छन् ।
साउन ६ पछि अवस्था विश्लेषण गरेर नियमित उडान गर्ने या अहिलेझैं चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती गराउने भन्नेबारे छलफल भइरहेको छ । गएको जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानलाई अनुमति दिइरहेको छ ।