इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गएराति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ ।
घटनामा दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।
हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको प्रहरी उपरीक्षक थापाले बताए ।
सोही क्रममा प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको प्रहरीले जनाएको छ । तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ ।
तीन जना भारततर्फ फरार भएको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते भएका र फरार भएका तस्करी, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्य गर्दै आएको प्रहरीले जनाएको छ ।