काठमाडौँ । सिन्धुलीकाे एक गाउँपालिकाका अध्यक्षले इन्जिनियरलाई अयोग्य घोषणा गर्दै हाजिरै नगराई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेका छन् ।
जिल्लाको फिक्कल गाउँपालिका, खाङसाङ, सिन्धुलीका अध्यक्ष धन बहादुर कार्कीले इन्जिनियर विष्णु प्रसाद कँडेललाई पदमा रही कामकाज गर्न अयोग्य रहेको ठहर गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेका हुन् ।
‘तपाईलाइ यस गाउँपालिकामा सो पदमा रही कामकाज गर्न अयोग्य ठहर गर्दै मिति २०७७ असार ३१ गतको गाउँकार्यपालिकाको निर्णयअनुसार श्रावण १ गतेदेखि हाजिर नगराई कामकाज नलगाउने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएकोले सोही बमोजिम हाजिर नगराई कामकाज नलगाउने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाइएको ब्यहोरा जानकारी गरिन्छ’ अध्यक्ष धन बहादुर कार्कीद्वारा जारी हस्ताक्षरित पत्रमा भनिएको छ ।
कँडेलले गाउँपालिकामा रहेर पुर्याउनु पर्ने सहयोग तथा कामको जतीजा प्रति सन्तोषजनक नपाइएको तथा अन्य उपभोक्ता र जनप्रतिनिधिहरूप्रतिको फरक प्रकृतिको व्यवहारका कारण अयोग्य ठहर गरेको पत्रमा उल्लेख छ ।
