जाजरकाेट । गत शुक्रबारकाे पहिरोबाट प्रभावित बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा खाद्यान्न आपूर्ति नहुँदा समस्या हुँदै आएको छ। बारेकोटमा तीनपटक हेलिकाेप्टर पुगे पनि आवश्यक खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीलाई समस्या भएको हो। गैरखाद्य सामग्री मात्र ढुवानी भएपछि खाद्यान्न ढुवानीको आसमा बसेका ५०० विस्थापित सर्वसाधारण दुःखी भएका हुन्।
बारेकोट सिनचौरका कालीबहादुर कामीले हेलिकाेप्टरले खानेकुरा ल्याउला भनेको कम्मल र त्रिपाल मात्र लिएर आएको बताए। ‘घर छाडेको आज हप्ता दिन बढी भइसक्यो, घरमा भएको केही चामल र पिठो ल्याएर अहिलेसम्म जेनतेन गुजरा चलायौँ। अब के खाने? राहत आउला भन्ने आसमा थियौँ तर अहिलेसम्म राहत पाइएन’, उनले गुनासो सुनाउँदै भने, ‘त्रिपाल र कम्मलको पनि आवश्यकता छ तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा पेट भर्नु छ। बाँच्नका लागि पनि नखाई भएन तर के खाने? हेलिकाेप्टरको आवाज सुन्दा पनि केही खानेकुरा ल्याउँछ कि भनेर आशा जाग्छ।’
खाद्यान्न नपाइएपछि विस्थापित भोकभोकै पर्न थालेको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताइन्। बारेकोटमा उत्पादित अन्नले वर्ष दिनमा ६ महिना मात्र खान पुग्छ। यातायात असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्रका खाद्य पसल छैनन्। मानिस खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन्। तर, खाद्य डिपो महिना दिनदेखि रित्तै हुँदा समस्या भएको हो। बर्सेनि खाद्य सङ्कट भइरहने बारेकाटका करिब २० हजार बासिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिबेला रित्तै छ।
बारेकोटमा खाद्य सङ्कट दिनहुँ चुलिँदै गएको छ। तर, ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ। बारेकोटको खाद्य सङ्कट टार्न सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चालु आर्थिक वर्षमा थपसहित तीन हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको छ। उक्त चामल ढुवानीका लागि सरकारले अनुदान दिँदै आएको छ। तर, आर्थिक वर्ष सकिँदा पनि चामल ढुवानीको जिम्मा लिएका एनबी विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले दुई हजार ४४२ क्विन्टल मात्र चामल ढुवानी गरेका छन्। एक हजार ५८ क्विन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य सङ्कट परेको हो।
‘गाउँमा खाद्यान्नको अभाव छ, ठेकेदारले चामल ढुवानी गर्दैनन्। गाउँमा उत्पादन भएको अन्न सकियो, पसल छैनन्। डिपो रित्तै छ, के किनेर खाने?’ विस्थापित बारेकोट–४ का देवराज बोहोराले भन्नुभयो। विस्थापित परिवार विपन्न वर्गका छन्। लकडाउनकै कारण धेरै मानिस गाउँ फर्किएका छन्। रोजगारीका अवसर छैनन्, त्यही माथि पहिरोले बारेकोटका विभिन्न गाउँ तथा बस्ती छियाछिया परेका छन्। मानिस कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन्। वर्षा रोकिएको छैन। विस्थापित सबै परिवार राहतकै पर्खाइमा छन्, तर अहिलेसम्म कतैबाट सहयोग भएको छैन।
‘बारेकोटका जिरी, तल्लोजिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, कोट्लीलगायतका गाउँमा केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ। गाउँपालिका एक्लैले विपद्को सामना गर्न सक्ने अवस्था छैन। विस्थापितलाई खानबस्नका लागि निकै समस्या छ’, उपाध्यक्ष शाहीले भनिन्। यातायात र सञ्चार सम्पर्कबाट बिच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ। राहत सामग्रीका लागि हवाईमार्ग बाहेकको विकल्प छैन तर केन्द्र सरकार सुन्दैन। बारेकोटको एक गाउँबाट अर्को गाउँ जान र एक वडाबाट अर्को वडा जान कम्तीमा छ घण्टा लाग्ने भएकाले पनि तथ्याङ्क सङ्कलनमा समस्या भएको उनले पीडा सुनाइन्।
पानी निरन्तर परिरहेकाले जमीन भासिने र पहिरो जाने क्रम नरोकिँदा पहिरो जाने डरले घर छाडेका स्थानीयवासी विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल हालेर बसिरहेका छन्। धेरैजसो विस्थापित स्थानीय विद्यालयमा बसिरहेका छन्। उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन् तर त्रिपाल नहुँदा कोरोनालगायतको जोखिम मोलेरै सयाैंको सङ्ख्यामा कोचिएर बस्न विवश भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले भने।