काठमाडौं : पूर्वराजदूत केशवराज झाको बबरमहलस्थित निवासमा अज्ञात समूहले हत्या गर्यो। अनुसन्धानका लागि सेक्युरिटी गार्ड सानुकान्छा तामाङसहित तीन जनालाई पक्राउ गरियो। तीनै जनाले प्रहरी र अदालतमा सोधपुछ बयान दिए।
महानगरीय प्रहरी अपराध महाशाखाले सानुकान्छाको बयान शंकास्पद देखिएको भन्दै पोलिग्राफ परीक्षणका लागि प्रहरी मुख्यालयलाई गुहार्यो। सानुकान्छालाई पोलिग्राफ परीक्षण गरे पनि राय दिन नसकिने खालको परिणाम आयो। गत भदौ ३ गते झाको चक्कु प्रहार गरी हत्या गरिएको थियो।
यो एउटा प्रतिनिधि घटना मात्रै हो। प्रहरीले यसअघि पनि पटक पटक शंकास्पद व्यक्तिमाथि पोलिग्राफ परीक्षण गर्दै आएको छ। २०७२ चैतमा तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वसांसद ल्यारक्याल लामालाई अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्यो। अनुसन्धानकै क्रममा लामाको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक दरबारमार्गको लकरमा १४ राउन्ड गोली फेला पर्यो। उनले परिचित व्यक्तिले नै सामान राख्न दिएको बताए। आयोगले लामामाथि पोलिग्राफ परीक्षण गर्न स्वीकृति माग्यो। लामाले नगर्ने भनेपछि रोकियो।
महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत रहँदा डीएसपी दयानिधि ज्ञवाली अख्तियारकै ‘स्टिङ अपरेसन’मा घुस लिँदै गर्दा पक्राउ परे। ज्ञवालीले जबर्जस्ती पैसा दिएको र आफूले घुस नमागको दाबी गरेपछि अख्तियारले पोलिग्राफ परीक्षण गर्न स्वीकृति माग्यो। तर, पोलिग्राफ निर्देशिका २०७० बारे जानकार रहेका ज्ञवालीले पोलिग्राफ परीक्षण गर्न इन्कार गरे। परीक्षण हुन पाएन।
नेपाल प्रहरीले पाँच वर्षयता दुई हजार दुई सय ६६ जनाको पोलिग्राफ परीक्षण गरेको छ। प्रहरीले अभियुक्त प्रमाणित गर्न नसकेका व्यक्ति र आन्तरिक कारबाहीमा परेका प्रहरी कर्मचारीमाथि पोलिग्राफ परीक्षण गर्दै आएको छ।
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा निलम्बनमा परेका प्रहरीमाथि पनि पोलिग्राफ परीक्षणको तयारी भइरहेको छ। एसपी डिल्लीराज विष्टसहित निलम्बनमा परेका डीएसपी ज्ञानबहादुर सेटी, डीएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामीमाथि पोलिग्राफ परीक्षण गर्ने भनिएको छ। यसअघि विभिन्न घटनालाई लिएर एक सय ३५ प्रहरी कर्मचारीको पोलिग्राफ परीक्षण भइसकेको छ।
विभागीय कारबाही, भ्रष्टाचार, घुस र रिसवत लिएको लगायत विषयमा प्रहरी कर्मचारीमाथि पोलिग्राफ परीक्षण हुँदै आएको छ। प्रहरी संगठनभित्र ट्राफिक प्रहरीमाथि बढी पोलिग्राफ परीक्षण हुँदै आएको छ।
प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीले पाँच वर्षयता दुई हजार दुई सय ६६ जनाको पोलिग्राफ परीक्षण भएको जानकारी दिए। परीक्षणका क्रममा एक हजार एक सय १९ जनाले झूटो बोलेको प्रमाणित भएको थियो। त्यसैगरी नौ सय ९३ ले झूटो नबोलेका, एक सय ५१ जनाको राय दिन नसकेको र ८६ जनाले अपराध स्वीकृत गरेको भेटिएको छ। प्रवक्ता थापाका अनुसार २३ जनाले भने पोलिग्राफ परीक्षण गर्न मानेका थिएनन्।
पोलिग्राफ निर्देशिका २०७० अनुसार अभियुक्त वा आरोपितले पोलिग्राफ परीक्षण गर्न नमाने जबर्जस्ती गर्न नपाइने व्यवस्था छ। नेपाल प्रहरीले चार विषयमा मात्रै पोलिग्राफ परीक्षण गर्दै आएको छ। जसमा अपराध अनुसन्धान, आन्तरिक कारबाही एवं अनुसन्धान, अन्तरइकाइ सरुवा तथा जिम्मेवारी प्रदान र भर्ना छनोट पर्छन्।
‘पोलिग्राफलाई अपराध अनुसन्धानको एउटा विकल्प मानेका छौं, ‘क्षत्रीले भने, ‘अनुसन्धानका क्रममा अभियुक्तले ढाँटे पनि पोलिग्राफ परीक्षण गरेपछि स्विकारेका घटना पनि छन्।’
के हो पोलिग्राफ ?
साँचो वा झूटो बोलेको पत्ता लगाउन वैज्ञानिक उपरकण प्रयोग गर्नुलाई पोलिग्राफ परीक्षण विधि भनिन्छ। शरीरका अंगको प्रतिक्रियाका आधारमा यसले झूटो वा सत्य पत्ता लगाउँछ। मुटुको चाल, रक्तचाप, श्वासप्रश्वास र पसिना ग्रन्थीको चाललाई उपकरणले रेकर्ड गर्छ। यसको अर्थ एकैपटक शरीरका प्रतिक्रिया रेकर्ड गर्नु हो। मुटुको चाल र श्वासप्रश्वासको उतारचढावको संकेतले नै मानिसले बोलेका कुरा झूटो या साँचो यसले पत्ता लगाउँछ।