कर्णाली । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जित्नुभएको छ ।
सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काको प्रत्यक्ष निगरानीमा उहाँ आफ्नै निवासमा आइसोलेशनमा रहनुभएको थियो ।
नेता शाहीको आरटी पिसिआर परीक्षण गर्दा मङ्गलबार रिपोर्ट नेगेटिभ आएको हो । “उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,” निर्देशक डा खड्काले भन्नुभयो, “अब उहाँ सामान्य जीवनमा जान सक्नुहुन्छ ।”
नेपाल सरकारका पूर्वमन्त्री शाहीले कल्पना नगरेको कुरा आफ्नो जीवनमा आइलाग्दा शुरुमा अलि तनाव भए पनि पछि धैर्य गरेर त्यस अवस्थालाई आफूले सामान्य बनाएको बताउनुभयो ।
मिडियाले आफ्नो गोपनीयताको ख्यालै नगरी नामै तोकेर समाचार लेख्दा आफूलाई नमज्जा लागेको अनुभूति उहाँले प्रकट गर्नुभयो ।
यस्ता विषयमा मिडिया संवेदनशील हुनुपर्ने उहाँको सुझाव थियो । “मूलतः कोरोना भाइरस जित्न आत्मबल चाहिने रहेछ,” नेता शाहीले भन्नुभयो, “ माया ममताको बढी खाँचो पनि त्यत्तिकै हुँदो रहेछ ।”
कोरोनाले नभई मनोविज्ञानले मान्छेलाई गलाउँदो रहेछ भन्ने अनुभूति भएको प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “आत्मबल कमजोर नै बनाइएन । घरमै बसेर तातोपानी खाइयो । दैनिक पसिना बग्ने गरी अभ्यास गरियो । रोग त आफै च्वाट भयो ।”
नेता शाहीले रोग लाग्दा कोही कसैलाई निराश र कमजोर नबन्न आग्रह गर्नुभयो ।


 
					
							 
			 
                             
                             
                             
                             
                            