दमौली । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको तनहुँको भानु नगरपालिकामा चितुवाको गणना गरिने भएको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयले यहाँको जङ्गलमा रहेका चितुवा गणना गर्न लागेको हो ।
चितुवाको आक्रमणबाट एक वर्षमा जिल्लामा छ जना बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये तीन जना भानु नगरपालिकाका हुन् ।
उनका अनुसार आर्थिक वर्ष ०७७/७८ मा यहाँ रहेका चितुवा गणना गरिनेछ । यसका लागि कार्यालयले भानु नगरपालिकाभित्रका वनजङ्गल क्षेत्रको सर्भे गरेको छ । करिव चार हजार २०० हेक्टर वन क्षेत्रमा ३६ वटा बिन्दु पहिचान गरिएको छ । “प्रत्येक बिन्दुमा क्यामरा जडान गरी यहाँ रहेका चितुवा गन्ने कार्यक्रम बनाएका छौँ”, उनले भने, “चितुवा सँगसँगै चितुवाका आहारा प्रजाति पनि गणना गर्छौं ।”
चितुवाको आहारा प्रजाति संरक्षण गर्न सकिए चितुवा मानव बस्तीमा नआउने र मानवलाई आक्रमण नगर्ने कार्यालय प्रमुख बरालको भनाइ छ । चितुवाको आहारा प्रजाति संरक्षणका लागि घाँसे मैदानको अवस्था अध्ययन, पोखरी संरक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
“चितुवाको आहारा प्रजाति भानुमा नभएको खण्डमा त्यस्ता प्रजातिको संरक्षण गर्ने अभियान सञ्चालन गरिनेछ”, उनले भने, “घाँसे मैदान हराउँदै गएको र घाँस नभएपछि चितुवाको आहारा प्रजाति पनि लोप हुँदै जान थालेको छ ।”
उहाँका अनुसार चितुवालाई मानव बस्तीसम्म आइनपुग्ने बनाउन चितुवाको आहारा प्रजाति संरक्षण गर्नुपर्ने मुख्य चुनौती रहेको छ ।
“विगतमा वनजङ्गलमा प्रशस्त वन्यजन्तु पाइन्थ्यो, चितुवाले त्यसैलाई आहारा बनाउँथ्यो, तर आजभोलि त्यस्ता वन्यजन्तु पाइन छाडेको छ”, उनले भने, “चितुवाले पनि आफ्नो आहारा नभेटेपछि आहाराको खोजीमा मानव बस्तीमा आउनु स्वभाविक हो ।” उनले वनक्षेत्रमा पोखरी संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्न लागिएको जानकारी दिए ।
एक वर्षमा पाँच जनाको मृत्यु
चितुवाको आक्रमणबाट गत आर्थिक वर्ष ०७६/७७ मा पाँच जना बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये भानु नगरपालिकाका दुई , शुक्लागण्डकी नगरपालिकाका एक, बन्दीपुर गाउँपालिकाका एक र आँबुखैरेनी गाउँपालिकाका एक जना छन् । भानु नगरपालिकाकै एक जना चितुवाको आक्रमणबाट घाइते भएका छन् ।
चितुवाको आक्रमणबाट विसं २०७६ असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ, भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोका, पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महीनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका आठ वर्षीय पुजन सिंजाली र माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनारको चितुवाको आक्रमण मृत्यु भएको थियो ।
मानवलाई आक्रमण गर्ने क्रम बढेपछि उक्त अवधिमा आठ चितुवा नियन्त्रणमा लिई उद्धार गरिएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनसँगको सहकार्यमा चितुवा नियन्त्रणमा लिएको थियो । यसका लागि सामुदायिक वनले काठको खोर बनाएका थिए । काठको खोर बनाउन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।
भानु नगरपालिकाबाट पाँच, बन्दीपुर गाउँपालिकाका दुई र व्यास नगरपालिकाका एक चितुवा नियन्त्रणमा लिई सुरक्षितरुपमा अन्यत्रै स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ ।