फिल्ममा मैनीले बोल्ने एउटा संवाद छ, ‘कहिले जन्मिने र कहिले मर्ने भनेर हामी आफैंले तय गर्न सक्दैनौं। तर, कसरी जिउने भने हामी आफैं तय गर्न सक्छौं।’ मैनीको यो जीवन दर्शन र जीवनशैलीले ‘आनन्द’ जस्ता फिल्मको याद दिलाउँछ।
हालै आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूत मुख्य भूमिकामा रहेको फिल्म ‘दिल बेचारा’ हिजो शुक्रबार रिलिज भयो। फिल्मको ट्रेलर निकै रुचाएका दर्शक फिल्मको व्यग्र प्रतीक्षामा थिए। सुशान्तले आत्महत्या गरेको केही दिनमा युट्युबमा सार्वजनिक भएको ट्रेलरले विश्व रेकर्ड नै कायम गरेको थियो।
जोन ग्रिनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ पढेका र यसमा आधारित हलिउड फिल्म हेरेका दर्शकका लागि ‘दिल बेचारा’ धेरै नयाँ नलाग्न सक्छ। यद्यपि, यी दर्शकका लागि पनि केही नयाँपन छ फिल्ममा। शशांक खेतान र सुप्रतिम सेनगुप्ताले नयाँ परिवेश र नयाँ कलाकारिताका साथ फिल्म प्रस्तुत गरेका छन्।
मूल उपन्यास र अंग्रेजी फिल्मलाई पनि आत्मसात् गर्दै कथा बुनिएको छ। प्रमुख भूमिकामा रहेका कलाकारमा आशन्न मृत्युका बीच हर्ष–विषाद, प्रेम–तनाव, चिन्ता–आशंका र जीवन जिउने आकांक्षा देखिन्छ। भविष्यको धेरै चिन्ता नलिई वर्तमानमा खुसीपूर्ण जीवन बाँच्नुपर्छ भन्ने सन्देश फिल्मले दिन खोजेको देखिन्छ।
मुकेश छाबडा निर्देशित ‘दिल बेचारा’ झारखण्डको जमशेदपुरका किजी वासु र इम्यानुएल राजकुमार जुनियार अर्थात् मैनीको प्रेम कहानी हो।
सानो सहरको ठूलो कहानी
जमशेदपुर भारतको यस्तो अनौठो सहर हो, जहाँ देशका विभिन्न ठाउँबाट आएका अलग धर्म, जाति र सम्प्रदायका मानिस बस्छन्। यो सहर उद्योगपति टाटाले बसालेको सहर हो।
जमशेदपुरका किजी (बंगाली), मैनी (क्रिश्चियन), जेपी (बिहारी), डा. झा र स्थानीय लवज बोल्ने अन्य सहयोगी कलाकार वास्तविक लाग्छन्।
‘दिल बेचारा’ को नवीनता भनेको यसको कथ्य भन्दा पनि न्यारेटिभ हो। जाम्बियामा जन्मिएकी बंगाली मातापिताकी छोरी किजी थाइराइड क्यान्सरबाट पीडित छिन्। अक्सिजनको सानो सिलिन्डर साथै लिएर हिँड्छिन्।
आफ्नो मृत्युको मिति थाहा पाइसकेकी किजीमा अन्य सामान्य युवतीको जस्तो सोच्ने, जीवन बाँच्ने अथवा प्रेम गर्ने इच्छा छैन। दैनन्दिनको मेडिकल जाँच र मातापिताको विशेष हेरचाहका बीच उनी उदास रहन्छिन्।
अर्कोतिर मैनी छन्, जो बोन क्यान्सरबाट पीडित छन्। उनलाई पनि थाहा छ, मृत्यु आँखै अगाडि छ। तरपनि मैनी भने बेपरवाह छन्। सुपरस्टार रजनीकान्तका सुपरफ्यान मैनीको जीवन बाँच्ने शैली बिन्दास छ।
एक राजा–एक रानी
किजी र मैनीको फिल्मी भेटपछि फिल्मको कथा अगाडि बढ्छ। ‘एक था राजा एक थी रानी, दोनों मर गए खत्म कहानी’ भन्ने परम्परागत हिन्दी कथाभन्दा फरक छ दिल बेचाराको कथा। फिल्ममा मैनीले बोल्ने एउटा संवाद छ, ‘कहिले जन्मिने र कहिले मर्ने भनेर हामी आफैंले तय गर्न सक्दैनौं। तर, कसरी जिउने भने हामी आफैं तय गर्न सक्छौं।’ मैनीको यो जीवन दर्शन र जीवनशैलीले ‘आनन्द’ जस्ता फिल्मको याद दिलाउँछ।
‘दिल बेचारा’ हेरिरहँदा मैनीको भूमिका निभाएका सुशान्तसिंह राजपूतको अफस्क्रिन छवि आँखा अगाडि आउँछ। उनीसँग भेटेका दर्शन भावुक हुन्छन्। सुशान्तको मृत्युपछि उत्पन्न खालीपनले गाँज्छ दर्शकलाई। सम्भावना बोकेका एक अभिनेताको अनुपस्थितिले विचलित बनाउँछ। सुशान्तले आत्महत्या गरेको एक महिनाजति मात्र हुँदैछ।
ताजापनले भरिएको फिल्म
दिल बेचारामा भरपूर ताजापन छ। निर्देशक मुकेश छाबडाले र लेखकले कलाकारमा अनावश्यक भावुकता थोपरेका छैनन्। कलाकार पनि अति नाटकीयता र मेलो ड्रामाभन्दा टाढै छन्। किजी, मैनी, जेजी, किजीका मातापिता र उनीहरुका छिमेकी सहज र आत्मीय लाग्छन्। फिल्म किजीको परिवारकै आसपास घुम्छ। मैनीको परिवार यदाकदामात्र देखिन्छ।
फिल्म हेरिरहँदा दर्शकले किजीको बढी चिन्ता गर्छन्। उनको आकांक्षा पूरा होस् भनेर कामना गर्छन्।
मैनीका पनि इच्छा–आकांक्षा छन्। उनी पेरिस गएर आफ्ना प्रिय संगीतज्ञ अभिमन्यु वीर (सैफ अलि खान)सँग भेट्न चाहन्छन्।
किजी र मैनी पेरिस पुग्छन् पनि। रोमान्टिक सहर पेरिसको दृष्य र किजी र मैनीको रोमान्सले फिल्मलाई सुखद् अन्त्यतिर मोडेको प्रतीत हुन्छ। तर, कहानीले दुखद् मोड लिन्छ।
संजना सांघी र सुशान्तसिंह राजपूतले किजी र मैनीको भूमिका पूरा इमान्दारिता र स्वाभाविकताका साथ पर्दामा उतारेका छन्।
फिल्मको एक दृष्यमा क्यान्सरको पीडालाई सुशान्तले बिना संवाद अनुहारको हाउभाउमा जीवन्त रुपमा प्रस्तुत गरेका छन्। क्यान्सरको पीडा आफ्नै जीवनमा भोगेका वा भोगिरहेका दर्शकले यसलाई अझ बढी अनुभूत गर्न सक्छन्।
दिल बेचाराको संगीत र नृत्य पनि उल्लेखनीय छ। संगीतमा ए आर रहमानको जादू देखिन्छ भने नृत्यमा फराह खानले राम्रा स्टेप निकालेकी छन्।
पहिलो फिल्मको रुपमा निर्देशक मुकेश छाबडामा केही कमजोरी देखिन्छ। तर, उनमा सम्भावना भने देखिन्छ।