काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सभामुखद्वय तारानाथ रानाभाट र दमननाथ ढुंगानासहित ४ सय ७९ जना पार्टी सदस्यहरुलाई जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित गरेका छन्।
बरिष्ठ नेता रामचन्द्र पौडेल समूह पार्टीका विभागहरुमा भएका मनोनयनहरु विधानविपरित भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा बैठक गरिरहेका बेला सभापति शेरबहादुर देउवाले फेरि अर्को मनोनयन गरेका छन् । त्यो पनि एकैपटक ४ सय ७९ जनालाई ।
ज्येष्ठ राजनीतिज्ञ सभामा सभापति देउवाले नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम सदस्य मनोनित गरेको केन्द्रीय कार्यालयका सचिवले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
देउवाइतर समूहले विधानले ६ महिनामा गठन गर्नुपर्ने भनी तोकेका विभाग र समितिहरुमा देउवाले महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि मनोनयन गरेर महाधिवेशनलाई प्रभावित बनाउन खोजेको आरोप लगाएको छ ।






