रवीन्द्र घिमिरे/शंकर गिरी
१० असोज, काठमाडौं । उमेरले ८० कटेका सूर्यकुमार अधिकारी एम्बुलेन्समा बिरामी लिएर हिँडेको ८ घण्टा बढी भयो । झण्डै ६ घन्टा त नागढुंगाको जाममा परे ।
एम्बुलेन्स चालकले निरन्तर साइरन बजाएका छन् तर पनि बाटो पाएका छैनन् । यसो अगाडि बढ्यो कि रोकिहाल्छ । गल्छीमाथि उकालोमा घ्याच्च-घ्याच्च गर्दागर्दै रात बित्यो । ‘बिरामी निकै गलेकी छन्, छिटो अस्पताल पुर्याउन पाए हुन्थ्यो,’ अधिकारीले भन्छन्, ‘कतिबेला जाम खुल्ने हो टुंगो छैन ।’
बिरामी बुढ्यौली उमेरकी छिन् । आन्द्रामा समस्या देखेपछि तनहुँको अस्पतालले काठमाडौं रिफर गरेको थियो । बिरामीले सोधिरहन्छिन्, ‘अझै अस्पताल आइपुगेन ?’ तर सूर्यकुमारसँग ‘आइपुग्दैछ’ भन्नु बाहेक अर्को विकल्प छैन ।
‘खुला ठाउँ हुँदा त बाटो छोडिदिन्छन् । तर कतिपय ठाउँमा त अघि बढ्ने बाटो नै हुन्न,’ एम्बुलेन्स चालकले भने, ‘एम्बुलेन्सले ब्याक गरेर बस्नु पर्नेसमेत हुन्छ ।’
यो एउटा मात्रै एम्बुलेन्सको कथा होइन । दर्जनौं एम्बुलेन्स यसरी नै नागढुंगाको जाममा फसेका छन् । जीवन जोगाउन सकिन्छ कि भनेर देशका विभिन्न भागमा रहेका अस्पतालले बिरामीलाई काठमाडौं रिफर गरिदिन्छ । आफन्तले पनि एम्बुलेन्सको जोहोर गरेर काठमाडौं ल्याउँछन् । तर नागढुंगाको जाम नकटुञ्जेल बिरामीहरु जीवन मरणको दोसाँधमै हुन्छन् ।
यही जामले शुक्रबार रौतहटबाट ल्याइएको एक बिरामी रुपलाल साहको एम्बुलेन्सभित्रै मृत्यु भयो ।
जाममा फेसका एम्बुलेन्सहरुलाई सहयोग गर्न कुनै संयन्त्र छैन । कतिपय गाडीले सम्भव हुने स्थानमा पनि बाटो छाड्दैनन् । एम्बुलेन्स चालकहरुले उल्टै खप्की खानुपर्छ ।
चितवनबाट बिरामी लिएर आएका एम्बुलेन्स चालक दोर्जे तामाङलाई नागढुंगाको जाममा फस्दा राज्य संयन्त्रप्रति दिक्दारी जनाउन मात्रै मन छ । ‘गुनासो गरेर केही हुँदैन, नेता बिरामी हुँदा त हेलिकप्टर गइहाल्छ, जनता बिरामी पर्दा एम्बुलेन्सभित्रै मर्नुपर्छ,’ उनी भन्छन्, ‘जनताले बाँच्न भाग्यमै भर पर्नुपर्ने भयो ।’ अनलाईनखबर बाट