काठमाडौं । छिमेकी जिल्ला पर्सा जिल्लामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएकोल जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि लागू हुने गरी बढी भिडभाड हुने स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।
बारामा दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।
बैठकले औषधि पसल २४ सै घण्टा खुल्ला रहने र खाधान्न, ग्यास, इन्धन, दूध, डेरी पसलहरु, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा विहान १० बजेदेखि मात्र बिक्री गर्न पाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको छ ।’
यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवात जावत पूर्णमा रुपमा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।
