टीकापुर । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो ।
मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टर को घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए । पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए । पाष्टर चौधरी पनि लासमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै थिए । तर मंगलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताउँछन् । पाष्टर दीपकले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताए ।
मंगलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको छ । प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । रासस