मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको बजेट आफन्तको खातामा जम्मा गरेर अनियमितताको आरोपपछि बिहिबार राती कागजात मिलाउँदै गर्दा पक्राउ परेका लेखापाल सहित चार जना शुक्रबार दिउँसो छुटेका छन् ।
गाउँपालिकाको बजेट आफ्नो, श्रीमतीको र भतिजाको खातामा जम्मा गरेको आरोप लागेका लेखापाल हेमन्त केसी सहित उनका चार जना आफन्तलाई प्रहरीले बिहिबार राती गाउँपालिको कार्यालयमा कागज मिलाउदै गर्दा नियन्त्रणमा लिएको थियो ।
बिहीबार राति साढे ९ बजे कार्यालयको मुख्यगेट बन्द गरी बत्ती निभाएर काम गरिरहेको अवस्थामा लेखापाल हेमन्त केसी, लेखा सहयोगी उनका भतिजा सुवास, भाइ विकास र अर्का भतिजा भीमसेनलाई प्रहरीले पक्राउ गरिएको थियो । कागजात मिलाउन लागेको आरोपमा पक्राउ परेका उनीहरु भोलिपल्टै बिना कारबाहि छुट्दा स्थानीयहरुले पहुँच र रकमको चलखेल भएको बताएका छन् ।
जिल्लाको अख्तियार दुरुपयोगको अधिकार समेत पाएका प्रमुख जिल्ला अधिकारीको कारण उनीहरु २४ घण्टा नपुग्दै छुटेको आरोप लागेको छ । यसरी भ्रष्टाचारको आरोप लागेका केसीले रातीको समयमा आफन्त सहित कागजात मिलाउदै गर्दा प्राप्त सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ गर्नु र छोड्नुको कारणबारे रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले गाउँपालिकामा राती काम गर्दा असुरक्षा भएकोले ल्याएको र स्थिती शान्त भएपछि छाडेको प्रतिक्रिया दिएका छन् । गाउँपालिकाको बजेट दुरुपयोगमा संलग्न लेखापाल र संलग्न उनका आफन्तको बचाउ गर्दै उनले आफैले पक्रिन र छोड्न आदेश दिएको बताएका छन् ।
आर्थिक वर्ष ०७६/०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल केसीले सिम्रुतु स्थित लक्ष्मी बैंकमा रहेको आफू सहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए । घटना जानकारी पाएपछि गाउँपालिकाले छानबिन समिति गठन गरेको छ । समिति गठनलगत्तै लेखापाल केसीले सबै रकम गाउँपालिकाकै खातामा फिर्ता गरेका छन ।