काठमाडौं । नेपालका विभिन्न खोला तथा नदीमा अवैध रुपमा जलयात्रा सञ्चालन गर्दा व्यवसायी मारमा परेका छन् । नेपालका नदीहरुमा साहसिक जलयात्राको प्रचुर सम्भावना भएपनि विभिन्न व्यक्ति र स्थानीय तहले आफूखुशी जलयात्रा सञ्चालन गर्दा दर्ता भएर सञ्चालित व्यवसायीहरु मारमा परेका हुन् ।
यस्तै, त्रिशूली, सेती र मस्र्याङ्दीलगायत नदीमा पनि जलयात्राका लागि पर्यटक आउने गरेका छन् । नेपालमा हाल ८५ कम्पनीले मात्र पर्यटन विभागमा सम्बन्धन लिएर जलयात्रा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । जलयात्रा व्यवसाय सञ्चालनका लागि दुई सेट डुङ्गा, दुईजना रिभर गाइड र एकजना कायक अनिवार्य रुपमा राख्नुपर्छ । डुङ्गाको सेट, गाइड र कायकका लागि एउटा व्यवसायले झण्डै रु ५० लाख खर्च गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त उक्त व्यवसाय सञ्चालका लागि पर्यटन विभागमा रु ५० हजार धरौती राख्नुपर्ने हुन्छ ।
नाराले जलयात्रामार्फत आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनका लागि हरेक वर्ष ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता गराउँदै आएको छ । सन् २००२ बाट कायक र ¥याफ्टिङ प्रतियोगिता गराउँदै आएकामा पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपाल बताउँछन् ।
नेपालमा सन् १९७२ देखि जलयात्राको शुरुआत भएको हो । शुरुमा बेलायती नागरिकले जलयात्रा शुरु गरे पनि व्यावसायिक रुपमा भने सन् १९७५ देखि शुरु भएको थियो । नेपालका नदीहरुमा एकपछि अर्को जलविद्युत् कम्पनी निर्माण गर्दा र अवैध रुपमा बालुवा निकाल्दा जलयात्रा व्यवसाय धरापमा परेको व्यवसायीहरु बताउँछन् । यस्तै, नदीको किनारमा पोशाक फेर्ने ठाउँ र शौचालयको अभाव हुँदा जलयात्रा व्यवसायलाई समस्या थपिएको छ । सरकारले जलयात्रा क्षेत्रलाई विशेष प्राथमिकता दिएर विदेशी पर्यटक भित्र्याउन लाग्नुपर्ने व्यवसायीको भनाइ छ । रासस