डोटी। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब समुदायस्तरमा कोरोना परीक्षण गरिने भएको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमित बढेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीले यहाँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षणका लागि तयारी गरेको छ ।
बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिने तयारी भएको जिल्ला अस्पताल डोटीका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।
समुदायस्तरमा कोरोना परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्न यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पठाएको बताइएको छ । रासस


 
					
							 
                             
                             
                             
                             
                            