काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई संघीय संसद सचिवालयले नेपालको नयाँ नक्सा समेटिएको लोगो वितरण गरिएकाे छ। सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा भएको लोगो हटाइएको थियो।
तर नयाँ लोगो बनाउन समय लागेपछि सांसदहरुले राष्ट्रिय झण्डाको प्रतीक प्रयोग गर्दै आएका थिए। संघीय संसदका महासचिव डा. भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई नयाँ लोगो हस्तान्तरण गरेका हुन्।
गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो। दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ।


 
					
							 
			 
                             
                             
                             
                             
                            