कञ्चनपुर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक कार्यवाहेक घरबाहिर निस्कन नपाउने नियम लागू गरेको छ।
संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय ऐन, २०२८ को दफा ६(३)बमोजिम बिहीबार राति १२ बजे देखि भदौ १४ गते राति १२ बजेसम्म कञ्चनपुर जिल्लाभर लागू हुनेगरी औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले आदेश जारी गरेका हुन्।
जारी आदेशअनुसार अत्यावश्यक कार्यका लागि घर बाहिर निस्किँदा अनिवार्यरुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने, निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधान जोरबिजोरका आधारमा सञ्चालन गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने आदेश जारी गरिएको छ।
कोभिड-१९ को संक्रमण जोखिम नियन्त्रण, सोको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा सञ्चालन हुने सवारी साधन चल्न दिइने छ ।
कार्यालय प्रमुखले तोके बमोजिम न्यूनतम संख्यामा कार्यालयमा उपस्थित हुने कर्मचारीले कार्यालयमा जान र फर्कनका लागि क्रमशः बिहान ९ः३० बजेदेखि १०:३० सम्म र दिउँसो ४ः३० बजेदेखि ५ः३० बजेसम्म फोटो सहितको परिचय पत्रको आधारमा आवतजावत गर्न पाउने छन्। रासस