अस्पतालको बेडमा बसिरहँदा उनलाई पट्यार लाग्छ। बेडबाट ओर्लिन्छन् र छिन–छिनमा नजिकैको झ्यालबाट उपत्यकालाई नियाल्छन्। अहिले यही कुरा रोमाञ्चक लाग्छ उनलाई। पहिला दिक्क लाग्ने शहरलाई झ्यालबाट नियाल्दा अत्याधिक रमाइलो लागिरहेको छ। अहिले उपत्यका सुनसान छ, अनि शान्त पनि। उनले यही सुनसान अनि शान्त उपत्यकाको फोटो नखिचेका पनि होइनन्।
सुनसान उपत्यकाको फोटो खिचेका छन्। धुलाम्मे अनि झिँझ्याटलाग्दो उपत्यकाको पनि फोटो खिचेका छन्। यस्तै विभिन्न क्रियाकलापलाई क्यामेरामा कैद गर्दैगर्दा उनलाई लाग्थ्यो- काम गरिरहेको छु। आफ्नो जिम्मेवारी पूरा गरिरहेको छु।
उनले हरेक कुरालाई आँखाले मात्रै नभएर आँखा सँगसँगै क्यामेराले नियाल्थे। तर अहिले झ्यालबाट आँखाले मात्र उपत्यकालाई नियाल्नु उनको कारण बनेको छ, कोरोना भाइरसको संक्रमण।
उनी आफ्नो पेसामा खटेर काम गर्दा गर्दै कति बेला संक्रमित पत्तै पाएनन्। अहिले आइसोलेसनमा दिन बिताइरहेको ६ दिन भयो।
पत्रकारिता गर्दै गर्दा डेस्कमा काम गर्ने पत्रकार होस् वा ‘फिल्ड’मा हिँड्ने पत्रकार नै किन होस्, फोटो पत्रकारको तुलनामा काम गर्न धेरै सहज छ। पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिदै गर्दा डेस्कमा काम गर्ने पत्रकारका लागि ‘वर्क फ्रम होम’ हुन सक्छ, फिल्डमा हिँड्ने पत्रकारका लागि ‘टेलिफोन रिपोर्टिङ’ हुन सक्छ।
एउटा फोटो पत्रकारका लागि यी दुवै कुरा सम्भव छैनन्। फोटो पत्रकार ‘एक्स्पोज’ हुनै पर्छ। फिल्डमा जानै पर्छ। फोटो खिच्नै पर्छ। विभिन्न क्रियाकलापलाई आफ्नो क्यामेरामा कैद गर्नै पर्छ।
फोटो पत्रकार भएका कारण न त उनले वर्क फ्रम होम गर्न सक्थे, न टेलिफोन रिपोर्टिङ नै। न त टाढै बसेर आँखाले नियालेर मात्रै काम गर्न सक्थे। आफ्नो कामप्रतिको जिम्मेवारी पुरा गर्न सम्बन्धित ठाउँमा उनी स्वयम् उपस्थित हुनै पर्छ। अन्य फोटो पत्रकार जस्तै जोखिम मोलेर फोटो खिच्न जानुको बिकल्प थिएन, उनीसँग पनि।
संक्रमणको वास्तै नगरी काम गर्दै थिए।
दिन प्रतिदिन उपत्यकामा फैलिदै गएको संक्रमण देख्दा उनलाई लागिरहेको थियो, ‘एक पटक पीसीआर परीक्षण गर्न पाए।’
उनलाई एक्कासी ज्वरो आयो। यस्तो बेलामा हेल्चेक्र्याइँ गर्नु हुँदैन भन्ने लाग्यो।
अस्पताल गए। पीसीआर परीक्षणका लागि नमूना दिए। रिपोर्ट दुई दिन पछि आउँछ भनिएको थियो। रिपोर्ट जहिले आएपछि ‘नेगेटिभ’ नै आउँछ भन्ने कुरामा उनलाई दुई मत थिएन। ढुक्क भएर बसे।
दुई दिनपछि उनलाई अपरिचित नम्बरबाट फोन आयो। नचिनेको नम्बर देख्दा उनी झस्किए। उनको ढुकढुकी बढ्न थाल्यो। मनमा शंका उब्जियो, ‘ला, रिपोर्ट पक्कै पनि ‘पोजेटिभ’ आयो क्या हो।’
उनले आफू विभिन्न ठाउँमा फोटो खिच्न हिँडेको कुरा सम्झिन थाले। संक्रमित भएका व्यक्तिका बारेमा सुनेका अनि पढेका कुरा सम्झिन थाले। यी कुरा सोच्दा सोच्दै मुटुले ढ्याङ्ग्रो ठोक्न थाल्यो।
डराई–डराई फोन उठाए। फोन उठाउने बित्तिकै उनको नाम, ठेगाना सोधियो। उनको विवरण संकलन गरेका व्यक्तिले उनलाई भने, ‘तपाईँ कोरोना भाइरस संक्रमित हुनु भएको छ। रिपोर्ट ‘पोजेटिभ’ आएको छ। तपाई आइसोलेसनमा बस्नु पर्छ।’
आफू संक्रमित भएको कुरा थाहा पाएपछि उनको मुखबाट बोली फुटेन। आफू रित्तो भए जस्तो भयो। जे कुरामा उनी ढुक्क थिए, त्यसको ठ्याक्कै विपरित भइदियो। कोरोना भाइरसको संक्रमणबाट लामो समयसम्म अछुतो रहन सकेनन्, उनी।
उनले भने, ‘संक्रमित भएको सुन्ने बित्तिकै नमज्जा लाग्यो। धेरै डराएँ। नर्भस भएँ। अब परिवारलाई कसरी भन्ने भनेर चिन्ता लाग्यो। मम्मीलाई संक्रमित भए भनेर कसरी भन्न सकुला भन्ने कुराले आत्तिए।’
उनलाई फेरि सोधियो, ‘घरमै आइसोलेसन बस्दा पनि हुन्छ। तपाईँ के गर्नु हुन्छ घरमा बस्नु हुन्छ वा आइसोलेसन सेन्टरमा बस्नु हुन्छ।’
उनले उत्तर दिए, ‘घरमा सक्दिन। आइसोलेसन सेन्टरमै बस्छु।’
‘बेड कहाँ खाली छ, म बुझेर फोन गर्छु’, भन्दै सूचना दिने व्यक्तिले फोन राखे।
उनी भने घरका कुनै पनि सदस्यलाई भन्दै नभनी आइसोलेसन जानका लागि आफूलाई चाहिने सामग्री तयार गर्न तिर लागे। परिवारलाई आफ्नो रिपोर्ट भन्ने आँट उनले गरेनन्।
‘घरमा कसैलाई पनि म कोरोना भाइरस संक्रमित भए छु, यो भन्ने मलाई आँटै आएन’, उनले भने।
तर जसरी पनि भन्नु त थियो नै। उनले आफ्नो सामान प्याक गरे। आमाको छेउमा गए र भने, ‘मम्मी म आइसोलेनमा बस्नु पर्ने भयो।’
छोराको कुरा सुनेर आमा डराइन्। एकछिन हड्बडाइन्। केही दिन अगाडि छोरालाई ज्वरो आएको र पीसीआर परीक्षण गराएको पनि थाहा पाएकी थिइन्। आफूलाई सम्हाल्न खोजिन्। छोरालाई सम्झाउन थालिन्।
‘आत्तिनु हुँदैन। केही हुँदैन। ठिक हुन्छ’ भन्दै छोराको मनोबल बढाइन् र छोराको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै केही दिनका लागि नचाहँदा नचाहँदै पनि बिदाइका हात हल्लाइन्।
एम्बुलेन्स आयो। चढे। एम्बुलेन्स चढ्ने बेला उनलाई लाग्यो, ‘एम्बुलेन्स आयो। वरिपरि हेरे। सबैले मलाई हेरेको जस्तो महसुस भयो। उनीहरुले के सोचि’रा होला भन्ने लाग्यो। हाम्रो समाज नि यस्तै छ। समाज जस्तो छ, आफू पनि त्यस्तै भइदो रहेछ। कसैले कही भनिहाल्छ कि केही गरिहाल्छ कि भन्ने डर मनमा आइहाल्ने रै’छ।’
केही बेरमा उनी अस्पताल पुगे। अस्पताल पुगन्जेल उनले अप्ठ्यारो महसुस गरिरहे। मनमा धेरै कुरा खेलाइरहे। आइसोलेसन वार्डमा प्रवेश गरिसकेपछि पनि उनीलाई लागिरह्यो, ‘म कतै सपना त देखिरहेको छैन। म कसरी संक्रमित हुन सक्छु?’
त्यो रात उनी सुत्न सकेनन्। मनमा कुरा धेरै खेल्न थाले। छटपटी झन्झन् बढ्न थाल्यो।
‘सोच्नु पर्ने भन्दा बढी नै कुराहरु सोचे छु’, उनले भने।
तर उनले मनलाई स्थिर राख्न खोजे। आफैले आफैलाई सम्झाउन थाले। नकारात्मक कुराले आफैलाई कमजोर बनाउँछ भन्ने लाग्यो। रोगले भन्दा धेरै नराम्रा कुराले मान्छेलाई गलाउँछन्, यो कुरा उनले बुझे।
अनि सकारात्मक सोच्न थाले।
पछिल्लो समय काठमाडौँमा संक्रमणले तीव्र रुप लिँदै गर्दा उनलाई एक न एक दिन कसो संक्रमित नभइएलार भन्ने नलागेको पनि होइन। तर यति चाँडै संक्रमित हुनु उनको कल्पना बाहिरको कुरा थियो। अहिले हिम्मत गरेर रोगसँग लडिरहेका छन्। चाँडै निको भएर घर फर्किने आशामा दिन गनिरहेका छन्।
अस्पताल गएको पहिलो रात निदाउन नसकेपनि अहिले उनी हरेक कुरालाई सकारात्मक रुपमा सोच्न थालेका छन्। यसको श्रेय उनी आफ्नो घर–परिवार, साथीभाइ र अफिसलाई दिन चाहन्छन् जसले उनलाई हौसला दिइरहेका छन्। मानसिक रुपमा बलियो बनाउन सहयोग गरिरहेका छन्।
फोन गरेर सम्झाउँछन्,‘तनाव नलिनू है। सामान्य हो। केही हुँदैन। चाँडै निको हुन्छौँ।’
उनले पनि यसै गरी सोच्न थालेका छन्। मनमा नकारात्मक कुराहरुलाई उब्जिन दिदैनन्। आफू जस्तै संक्रमण भएर आइसोलेसन बसेकाहरु साथी बनिसकेका छन्, उनका। घरिघरी उनीहरुसँग गफिन्छन्। रमाइलो गर्छन् जसले गर्दा समय कटाउन केही सहज भएको छ उनलाई।
आइसोलेसनमा दिन बिताइरहेका उनी आफ्ना साथीहरुलाई भने साबधानीपूर्व काम गर्न आग्रह गर्छन्।
उनले भने, ‘फिल्डमा हिँड्दा स्वास्थ्य सुरक्षाका सामाग्री अपनाएर मात्र बाहिर निस्कनू, जो पनि जुन सुकै बेला संक्रमित हुन सक्छ। संक्रमित भइहाले पनि आत्तिनु हुँदैन। सकारात्मक कुराहरु सोच्नु पर्छ। यस्तो बेला नकारात्मक कुरा सोच्ने हो भने मानसिक र शारीरिक गरी दुवै रुपमा कमजोर भइन्छ।’
जुनसुकै व्यक्ति संक्रमित हुन सक्छ। यो महामारीका बेला एकअर्कालाई हौसला दिदै अगाडि बढ्नु पर्ने अवस्थामा डराएर बस्नु पर्ने वातावरण समाजले सिर्जना गरेको उनी बताउँछन्।
उनले भने, ‘कोरोना भाइरस संक्रमितलाई हेर्ने व्यवहारले गर्दा समाजमा संक्रमित खुल्न सकेका छैनन्। घरिघरी लाग्छ, समाज कता गइरहेको छ। कुन बाटो हिडिरहेको छ। मैले अस्ति बानेश्वरवाला केस पढेको थिएँ। अहिले स्वास्थ्यकर्मीहरु हाम्रै लागि भनेर दिन रात खटिरहेका छन्। परिवारबाट टाढिएर बसेका छन्। उनीहरुलाई नै त्यस्तो गर्दा नराम्रो लागेको थियो। मानिस कसरी यस्तो क्रुर कसरी बन्न सक्छ होला। अरुलाई कसरी चोट पुर्याउन सक्छ होला।’
‘अहिले स्वस्थ्यकर्मीलाई नबुझेकाहरु आफू बिरामी भएपछि मात्र उनीहरुको महत्व बुझ्ने छन्’, उनले भने, ‘आइसोलेसनमा बस्दै गर्दा अहिले मैले महसुस गरिरहेको छ।’देश सञ्चारबाट