काठमाडौँ । प्रहरीले उदयपुरबाट भारततर्फ लैजाँदै गरेको ८४ किलो गाँजा बरामद गरेको छ। उदयपुरको ताप्ली गाउँपालिका क्षेत्रबाट संकलन गरी उदयपुरगढी गाउँपालिका हुँदै भारत लैजाँदै गरेको अवस्थामा गाँजासहित प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-१ का २९ वर्षीय पुष्पबहादुर मगर र सोही गाउँपालिका-३ का ४३ वर्षीय रामबहादुर तामाङ छन्। चार वटा बोरामा बोकेर लगिरहेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए। गाँजा ओसारपसारमा संलग्न मुख्य व्यापारी पक्राउ परेका छैनन्। भरिया र मुख्य कारोबारीसहित पाँच जना फरार रहेको दाहालले बताए।
भारत लैजान उदयपुर र सिरहामा गाँजाका कारोबारी रहेको दाहालले बताए। उदयपुरका व्यापारीले सिरहाको व्यापारीलाई जिम्मा लगाउने र त्यहाँको व्यापारीले भारत पुर्याउने गरेको पाइएको दाहालले बताए।


 
					
							 
			 
                             
                             
                             
                             
                            