म त्रिभुवन विश्वविद्यालय केन्द्रीय भूगर्भशास्त्र विभागमा पढाउँछु। कोरोनाभाइरस संक्रमण जोखिमपछि विश्वविद्यालयको गतिविधि ठप्प थियो। तर, विद्यावारिधि गर्ने आफ्ना विद्यार्थीलाई मार्गदर्शनको काम जारी नै राखेको थिएँ।
त्यस्तै, भूगर्भशास्त्र सम्बन्धी मेरा अन्य अफिसियल काम बन्दाबन्दीमा पनि चलिरहेका थिए। बन्दाबन्दीकै वेला हामी केही ठाउँमा अध्ययनका लागि गएका थियौं। पछिल्लो पटक १३ साउनमा इलाम गयौं। इलामबाट फर्केपछि भने मलाई ज्वरो देखिनुका साथै सुख्खा खोकी पनि लाग्न थाल्यो। त्यसपछि म घरमा परिवारका सदस्यबाट अलग भएर कोठामा एक्लै बस्न थालें।
कोरोनाभाइरसको लक्षण देखिएपछि मैले शंका लागेर काठमाडौं धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा स्वाब परीक्षण गराएँ। कोरोना पोजिटिभ देखियो। रिपोर्ट पोजिटिभ देखिएको पाँच दिनसम्म घरमै बसें। तर, छैटौं दिनमा एकदमै गाह्रो भयो। ज्वरो र खोकी कम भएन। सास फेर्न गाह्रो हुन थाल्यो।
भाइले उपचारका लागि लैजान बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा कुरा गरे। एम्बुलेन्स बोलाएर एपीएफ अस्पताल पुगें। अस्पताल पुग्दा मेरो अवस्था एकदमै नाजुक भइसकेको थियो। आधा घण्टाजति सामान्य वार्डमा राखेर जाँच्दा डाक्टरहरुले मेरो अवस्था जटिल देखेपछि हत्तपत्त आईसीयूमा लैजानुभयो।
आईसीयूमा लैजाँदा बाँच्छु भन्ने लागेको थिएन। किनकि, सास फेर्न मुश्किल परिरहेको थियो। अत्यन्तै गलिसकेको थिएँ। दुई दिनसम्म एकदमै गाह्रो भयो। ज्वरो र खोकी निरन्तर थियो। म अर्धचेतको अवस्थामा थिएँ। तेस्रो दिनदेखि भने स्वास्थ्यमा विस्तारै सुधार हुँदै गयो।
आईसीयूमा १३ दिनसहित जम्मा १८ दिनको उपचारपछि अस्पतालबाट ११ भदौमा डिस्चार्ज भएँ। अहिले घरमै आराम गरेर बसेको छु।
बिस्तारै पुरानो अवस्थामा फर्कंदैछु। कमजोर महसुस हुँदो रहेछ। एकदमै भोक लाग्छ। बिहान ५ बजे नै खाजा चाहिन्छ।
मृत्युलाई नजिकबाट देखेर आएँ। मेरो लागि यो दोस्रो जन्म हो। अस्पतालका डाक्टरहरु मेरा लागि भगवान सरह हुन्। उहाँहरुकै अथक प्रयासले म बाँच्न सफल भएँ।
एपीएफ अस्पतालको व्यवस्था एकदमै राम्रो रहेछ। म सरकारलाई धेरै धन्यवाद दिन्छु। यस्तो खालका अस्पताल देशभर हुने हो भने हामी पक्कै पनि कोरोना विरुद्धको लडाइँमा सफल हुन्छौं।
अस्पतालमा मेरो एक पैसा पनि खर्च भएन। सम्पूर्ण खर्च राज्यले बेहो¥यो। करदाताका हिसाबले असाध्यै खुशी लाग्यो। हरेक नागरिकलाई अस्पतालमा त्यस्तै खालको सेवा–सुविधा हुनुपर्छ।
कम नआँकौं
हामीले कोरोनाभाइरसलाई रुघाखोकी जसरी सामान्य रूपमा लिंदै नलिऔंं। ज्वरो कम भएन, निरन्तर खोकी लागिरह्यो र सास फेर्न गाह्रो भयो भने तुरुन्तै अस्पताल गएर पीसीआर परीक्षण गराइहालौं।
यसलाई साधारण रुघाखोकी ठानेर बेसार–पानीले ठीक भइहाल्छ नि भन्ने खालका जुन भ्रम हामीलाई छ, यसकै कारण समाजमा कोभिड–१९ फैलिंदैछ जस्तो लाग्छ।
कोरोनाको मेडिकल र बायोलोजिकल कुरा त मलाई थाहा भएन। डाक्टरहरुका अनुसार मेरो हकमा फोक्सोमा तलदेखि नै असर गरेको देखिन्छ।
म कसरी संक्रमित हुन पुगें, थाहा छैन। मैले धेरैभन्दा धेरै सर्तकता अपनाउँदै आएको थिएँ। तर, कुनै हेलचेक्र्याइँकै कारण संक्रमण सरेको हुनुपर्छ। हामीले इलाममा लोकल गाडीको प्रयोग गरेका थियौं। त्यही गाडीबाट संक्रमण भयो वा हाम्रो टोलीमा भएका कसैलाई पहिल्यै संक्रमण थियो।
हाम्रो संयुक्त परिवारमा दश जना छौं। तर, मेरा घरपरिवारका अरु सदस्य कोही पनि संक्रमित भएनन्। (सह-प्राध्यापक डा. दाहालसँग मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित।)