काठमाडौं । टोखा नगरपालिका कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरेको छ । पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलका अनुसार नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए ।
कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए । टोखामा शुक्रबारसम्म २५७ कोरोना सङ्क्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
सक्रिय सङ्क्रमितमध्ये १०९ जना होम आइसोलेसन र ४८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । नगरपालिकाले कोरोना सङ्क्रमणको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ ।