तपाई सरकार प्रमुख होइन र मेयरसाब ?

नगरप्रमुख चौधरीलाई खुलापत्र

तपाई सरकार प्रमुख होइन र मेयरसाब ?

नगरप्रमुख चौधरीलाई खुलापत्र

श्रीमान् नगरप्रमुख ज्यु

घोराही उपमहानगरपालिका, दाङ

आज मैले पत्रिकाको (दुरु+)उपयोग गर्दै तपाईंलाई यो पत्र लेख्दैछु । पत्रिकामार्फत सार्वजनिक पदासीन व्यक्तित्वलाई पत्र लेख्ने काम पाठकको हो । आफैले आफ्नो कुरा सम्पादकीयमार्फत भन्ने हो । यो पत्रकारिताको विश्वव्यापी अभ्यास हो । त्यसैले यो पत्र पत्रिकाको सम्पादक आफैले लेखेर छाप्नुलाई (दुरु+) उपयोग पनि मानिन सक्छ ।

मेयरसाव,

म यतिबेला कोहलपुरस्थित कोभिड अस्पतालको ‘क्याविन ए’बाट तपाईलाई पत्र लेख्दै छु । मेरो दायाँ–बायाँ दुईवटा बेड छन्, जसमा मेरा अल्सरसहित कोरोना संक्रमण देखिएका पिताजी र टाइफाइडसहित कोरोना संक्रमण देखिएकी मेरी माताजी हुनुहुन्छ ।

उहाँहरुको बीचमा भूँइमा म्याट बिछ्याएर गत २६ गतेदेखि म कुरुवाको रूपमा बस्दै आएको छु । माता भने ३० गते यहाँ आउनुभएको हो । पिता–माता अस्पतालमा, म कुरुवा, मेरा घरका सबै ‘होम–क्वारेन्टाइन’मा छौ, यो बेला । यस्तो बेलाको मनोदशा, छट्पटी र जोखिम कस्तो हुन्छ भन्ने मैले राम्रोसँग भोगे । दुईजना कोराना संक्रमितको बीचमा बसेर म तपाई र तपाईको परिवारको स्वास्थ्य सधैं राम्रो होस्, कुनै समस्या नदेखियोस् भनेर भगवानसँग प्रार्थना गर्दछु ।

संसार कोभिड–१९ बिरुद्ध लड्दै छ । संक्रमित पहिचान गरी उनीहरूलाई कोरोनामुक्त बनाउँदै समाजलाई नै कोरोनाबाट मुक्त बनाउन संसारका सबै संरचनाहरू परिचालित छन् । तपाई प्रमुख रहेको स्थानीय सरकार र त्यस मातहतका संरचनाले पनि पक्कै त्यही गरिरहेको होला । तपाईका भाषण र अन्तर्वार्ता हेर्दा त्यस्तै लाग्छ । तर मसँग यो बीचमा अत्यन्तै तीतो अनुभव रह्यो । म यो पत्रमार्फत तपाईलाई त्यो विषय सुनाउन चाहन्छु । त्योभन्दा पहिले मैले यो पत्र सार्वजनिकरूपमा किन लेख्न लागे भन्ने पनि स्पष्ट पार्न चाहन्छु ।

तपाई र तपाई मातहतका संरचनाको नेतृत्वकर्ताहरूसँग पटक–पटक औपचारिक र अनौपचारिकरुपमा अवस्थाको जानकारी गराउँदा झनै निराश हुनप¥यो । त्यसैले सार्वजनिकरुपमा तपाईलाई भनेपछि मैले त जे भोगे भोगे अरु मजस्ता सामान्य नागरिकहरुले त्यो पीडा भोग्न पर्दैन कि ? तपाईले केही सुधारका लागि पहल गर्नुहुन्छ कि भन्ने अपेक्षाका साथ यसरी सार्वजनिक पत्र लेखेको हुँ ।

मेरो पिता अस्पतालमा भर्ना हुनुभयो । रगत चढाउनुपर्ने भयो । अचेतझै अवस्थामा हुनुहुन्थ्यो । डा. मीनचन्द्र अधिकारीले कोरोना परीक्षण गर्न सुझाउनुभयो । मैले मेरो वडाको अध्यक्ष भरत अर्याललाई फोन गरे । उहाँले बर्ष सोध्नुभयो, मैले ६८ बर्ष भने । ‘मैले नाम पठाइदिन्छु १२ बजेतिर पद्मोदय जानुहोला’ भन्नुभयो । बडाअध्यक्ष, व्यस्त मान्छे ।

नाम पठाउन भुल्न सक्नुहुन्छ भनेर मेरी श्रीमती सुलोचनालाई १० बजे वडामा गएर सिफारिस ल्याउन भने । उनले बडा अध्यक्षलाई फोन गरिन् । नाम गइसकेको रहेछ । अनि मैले सुलोचनालाई १२ बजे पद्मोदय गएर लाइन लाग्न र पिताको पालो आउँदा फोन गर्न भने ।

मेयरसाव, मेरो पिता गम्भीर हुनुहुन्थ्यो त्यो बेला । ब्लड बैंकबाट १ पिन्ट रगत लिएर चढाउने तयारीमा थियौं । म पत्रकार भएकाले स्वाव लिन जाँदा ‘लाइन मिचेर पत्रकारले सेवा लियो भनेर कसैले भन्लान’ भन्ने पनि ठाने । पिताको अवस्था अचेतझै थियो । उहाँलाई त्यो बेलाको कुनै कुरा याद नै छैन । फेरि पत्रकारको बाबुको स्वास्थ्य जति महत्वपूर्ण छ, अन्य नागरिकको स्वास्थ्य पनि त्यत्तिकै महत्वपूर्ण छ भनेर मैले पालो मिच्न चाहेन र शुरुमै सुलोचनालाई लाइन लाग्न पठाए । पालो आयो, सुलोचनाले फोन गरिन् मेयरसाव ! अनि म पितालाई मेरो गाडीमा लिएर त्यहाँ पुगे ।

पितालाई मैले अस्पतालबाट गाडीमा चढाउँदै गर्दा वीरकेशरी गौतमले फोन गरेर ‘पालो आयो, नाम बोलायो’ भनेर पनि सूचना दिनुभयो । उहाँ पनि स्वाव दिन त्यहाँ पुग्नुभएको रहेछ । म अचेत अवस्थाका पितालाई लिएर त्यहाँ पुगे ।

पुरै अस्त–व्यस्त छ, त्यहाँ । पालो मिचियो भनेर एउटा समूहले आपत्ति जनाई पनि रहेको थियो । खटिएका कर्मचारीहरुले फोन गर्दै घरपरिवारका सदस्यलाई बोलाउँदै स्वाव लिइरहेका थिए । म नजिकै गई ‘ब्लड चढाउन रोकेर आएको छु, पालो पनि आयो रे !’ भन्दै स्वाव लिन आग्रह गरे । त्यो बेला पिता गाडीमा सुतिरहनु भएको थियो । म पौने घण्टा त्यहाँ अनुनय–बिनय गर्दा कोही कर्मचारीले सुन्न चाहेनन् । ‘दिदीलाई चाँडो ल्याऊ, भतिजलाई बोलाऊ, भाइ त्यो बाइक लगेर मेरी बुहारीलाई ल्याइदेऊ अनि तिम्रो स्वाव लिदिम्ला’ यस्ता आवाजहरु आइरहेका थिए तपाईका कर्मचारीहरुबाट मेयरसाव ।

पौने घण्टा मलाई नसुनेपछि मैले मेरो बडाध्यक्ष भरत अर्याल र स्वाव लिइरहेको बडाका अध्यक्ष रमेश पाण्डेलाई फोन गरेर आपत्ति जनाए, मेयरसाव । उहाँहरुले ‘बुझेर खबर गर्छु’ भन्नुभयो, सायद अहिलेसम्म बुझिरहनुभएको होला । राम्रोसँग बुझ्न समय लाग्ने नै भयो, मेयरसाव । तपाईले पनि राम्रोसँग बुझनु होला उहाँहरुजस्तै ।

भोलिपल्ट ४,४६०।– रुपैयाँ तिरेर पिताको स्वाव परीक्षण गराए स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा । कोरोना देखियो, अहिले यहाँ छौं । केही पत्रकार साथीहरूले ‘के भएको ?’ भनेर तपाईको स्वास्थ्य प्रमुखसँग सम्पर्क गर्नुभएछ, ‘केही होइन, कम्युनिकेशन ग्याप भएको हो’ भन्ने जवाफ पाउनु भएछ । मेयरसाव, बिरामी पिताको स्वाव लिन लाइन लागेर दिनभर कुरेर आफ्नो पालोमा पुग्दा पनि स्वाव दिनका लागि कस्तो ‘कम्युनिकेशन’ गर्नुपर्ने हो ? कृपया मलाई जानकारी गराइदिनु होला !

त्यतिमात्र कहाँ हो र मेयरसाव, मेरो मातालाई ज्वरो आइरहेको थियो । घाँटी सुकेर थुक निल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । अस्पतालमा जाँच गराउँदा टाइफाइडको रिपोर्ट आयो । पितालाई देखियो, माताको त्यो लक्षणमा हैन र मैले उहाँको कोरोना परीक्षण गराउने मेयरसाव ? कि कस्तो बेलामा हो ? मेरी श्रीमती सुलोचनाले नगर स्वास्थ्य प्रमुखलाई फोन गरिछन्, ‘मिलाउँछु मिलाउँछु’ भन्ने जवाफ आइरह्यो । तर मिलेन मेयरसाव ।

माता झनै कमजोर हुँदै जानुभयो । म कोभिड अस्पतालमा छु । घरमा सबै ‘होम–क्वारेन्टाइन’मा छन् । माताको अवस्था खस्कँदो छ, तर तपाईको स्वास्थ्य विभागले मिलाउन सकेन मेयरसाव । माताको पनि सःशुल्क परीक्षण गराइयो, पोजेटिभ देखियो । अनि यही आउनुभयो ३० गते । दुबैको उपचार भइरहेको छ, अवस्थामा थोरै सुधार देखिन्छ, मेयरसाव ।

अनि ‘होम–क्वारेन्टाइन’मा बसेकाहरुले र गोरक्ष पत्रिकाको अफिसमै क्वारेन्टाइन बनाएर बसेकाहरु, जो ‘कन्ट्रयाक्ट ट्रेसिङ’का पहिला पात्र हुन्, उनीहरुको आग्रह पनि तपाई मातहतको संरचनाले सुनेन मेयरसाव । पत्रिकाका कार्यकारी सम्पादकले त नगरपालिकासँग निवेदन नै दिएर स्वाव परीक्षणको आग्रह गर्नुभयो । यो लिखित, मौखिक आग्रह त मेयरसाव, स्थानीय सरकारलाई गरेको हाम्रो सहयोग हो । कोरोना संक्रमण उन्मूलन गर्न संक्रमितको पहिचान गरेर उनीहरुबाट अरुहरुमा नसर्ने प्रबन्ध गर्न सक्रिय तपाईं मातहतको सरकारलाई यो सूचना त ठूलो उपलब्धि हुने भन्ठान्यौ, मेयरसाव ।

अस्पतालमा सिकिस्त बिरामी पनि तपाईले स्वाव लिने मध्यमा परेन, लक्षण देखिएको पात्र पनि तपाईले स्वाव लिने मध्यमा परेन । परिवार नै कैदी जसरी ‘होम–क्वारेन्टाइन’मा बस्दा उनीहरु पनि कोही तपाईले स्वाव लिने मध्यमा परेनन् मेयरसाव । आखिर तपाईको सरकारले कसको स्वाव लिएरहेको छ ? नेगेटिभ रिपोर्ट बनाएर बिदेश जाने, काममा जानेहरुबाट स्वास्थ्य बिज्ञान प्रतिष्ठानभन्दा सस्तो पैसा लिएर स्वाव परीक्षण त भइरहेको छैन ? तपाईको सरकार मातहतमा, यो मेरो आशंका पनि तपाईले ‘बुझ्छु’ भनेर पन्छाइदिनुहुनेछ, यसमा म ढुक्क छु, मेयरसाव ।

तपाईलाई यसबारेमा सोध्ने पत्रकार र मेरो परिवारका सदस्यले पाएको तपाईको जवाफले त म झनै अवाक् बने । मैले पढेको र पढाउँदै पनि आएको ‘स्थानीय सरकार भनेको नागरिकको घर–आँगनको सरकार हो’ भन्ने कुरा, ‘संविधानमा उल्लेख भएको नागरिकको मौलिक हकको उपयोग गर्ने सुनिश्चितता निर्माण गर्नु राज्यको सबै तह र संरचनाको प्रथम दायित्व हो’ भन्ने कुरा, ‘लोककल्याणकारी राज्यमा नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व क्रमशः सरकारले लिँदै जान्छ’ भन्ने कुरा गलत रहेछ भन्ने लाग्यो तपाईको त्यो जवाफले ।

‘संघीय सरकारले कन्ट्रयाक्ट ट्रेसिङ नगर्न भनेको छ, मैले पनि गराएको छैन । कन्ट्रयाक्ट ट्रेसिङमा त म पनि पर्छु ।’ तपाईको यो जवाफ हो भने तपाई हिजो गाविसको अध्यक्ष हुँदाको स्थानीय निकाय, जनप्रतिनिधिविहीन अवस्थामा कर्मचारीले चलाएको स्थानीय निकाय र संविधानले एउटा सरकारका रुपमा चिन्ने स्थानीय तहबीचको फरक के हो त मेयरसाव ?

तपाई संघीय सरकारको परिपत्र बाचन गर्दै हिँड्ने पात्र हो कि हामी नगरवासीले जिताएको यो नगर सरकारको प्रमुख हो ? स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा, अझ यो कोरोनाको आतंक चलिरहेको बेलामा आफ्नो नगर क्षेत्रलाई संक्रमणमुक्त बनाउन समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने हो कि संघीय सरकारका विवादास्पद परिपत्रमा टेकेर प्रमुख दायित्वबाट पन्छने बेला हो यो मेयरसाव ?
करको बारेमा देशभरका स्थानीय सरकारले जुन निर्णय गरे, त्यसले स्थानीय सरकार प्रमुखहरुले अझै आफ्नो हैसियत र भूमिका बुझ्न सकेनछन् भन्ने लागेको थियो ।

कर नलिएर सरकार चलाउन पनि सकिन्छ । बाध्यात्मक अवस्थामा न्यून कर लिएर पनि सरकार चल्छ । विकल्पहरुको पहिचान गर्नेतर्फ कुनै प्रयास, छलफल नै नगरेर कर्मचारीहरुको प्रस्तावमा कर बढाउने कुरामा पालिका प्रमुखहरुले स्वीकृति जनाएपछि सर्वहाराको पक्षमा उभिने कुरा हावादारी रहेछन् भन्ने कुरा पालिका प्रमुखहरुले यसअघि नै प्रमाणित गरिसक्नुभएको छ ।

यतिबेला स्वास्थ्यको बिषयमा पनि परिपत्रले आफ्नो भूमिकालाई ढाक्न खोज्नु भनेको स्थानीय सरकारको महत्व र भूमिकालाई पुरै नजरअन्दाज गरेको कुरा हो, मेयरसाव । हामीसमेतको लडाइँबाट स्थापित संघीयतामा स्थानीय सरकार त झन् बलियो र नागरिकका व्यक्तिगत समस्यालाई पनि सम्बोधन गर्न सक्ने हुनुपर्छ भन्ठानेका थियौं ।

मेयरसाव, स्थानीय सरकार यसरी बरालिन भएन । स्वाव लिने नाटक मञ्चन भइरहेको छ, तर कसको स्वाव प्राथमिकतामा राखेर ल्याउने हो ? त्यो कुरामा थप प्रष्टता चाहियो । तपाईको नगरका बासिन्दालाई संक्रमणमुक्त बनाउने कुरा र अपेक्षा गर्दा संघको परिपत्रले तपाईको लाज ढाक्न सक्दैन मेयरसाव ।

व्यक्ति–व्यक्तिबाट हिजो राहत लिँदा संघीय सरकारले आदेश दिएको हो र ? आज संक्रमणमुक्त पालिका बनाउन तपाईले योजना गर्दा व्यक्ति–व्यक्तिले, समुदायले सहयोग नगर्ला र मेयरसाव ? आउनुहोस् मेयरसाव, संघीय सरकारको परिपत्रको जामा फालेर नगरलाई स्वस्थ्य बनाउन योजना बनाऔं, सहकार्य गरौं ।

मेरो परिवारले जुन त्रास भोग्यो, स्वास्थ्यमाथिको अधिकारको उपयोग गर्न पाइन र स्थानीय सरकार नभएको अनुभूति ग¥यो, अब त्यस्तो अनुभूति अरु कोहीले पनि गर्न नपर्ने अवस्था निर्माणमा सहकार्य गरौं । त्यसका लागि तपाईले सबैभन्दा पहिले ‘म स्थानीय सरकारको प्रमुख हुँ’ भन्ने महसुस गर्नुप¥यो । सरकार प्रमुखको प्रथम दायित्व नागरिकको सेवा भन्ने मान्यतालाई आत्मसात् गर्नुप¥यो र ‘सर्वहारा बर्गको राजनीतिबाट निर्मित’ तपाईको व्यक्तित्वले ती सर्बहाराको स्पन्दन छाम्दै विवेकपूर्ण निर्णय गर्ने क्षमता प्रदर्शित गर्नुप¥यो ।

तपाईको सबल नेतृत्वको अपेक्षासहित

विपुल पोख्रेल (घोराही, १८, महदेवा दाङ)

हाल : कोभिड अस्पताल, कोहलपुर

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार