काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ । लिड्सले फुलह्यामलाई ४-३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको हो । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
एलेक्जेन्डर मिट्रोभीले पेनाल्टीमा गोल गर्दै ३४ औं मिनेटमा फुलह्यामलाई बराबरीमा ल्याएका थिए । मेटस किट्ल्जीले पेनाल्टीमा गोल गर्दा लिड्सले २-१ को अग्रता लिन सफल भयो । पहिलो हाफमा २-१ को अग्रता बनाएको लिड्सले दोस्रो हाफमा २ गोल खाँदा २ गोल थप्दै जित पक्का गरेको थियो ।
पेट्रिक बामफोर्डले ५१ औं मिनेटमा गोल गरेपछि लिड्स ३-१ ले अघि बढेको थियो । हेल्डर कोस्टाले ५७ औं मिनेटमा टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । यस्तै फुलह्यामका लागि बोबीले ६२ औं मिनेटमा गोल गर्दै अग्रता ४-२ मा ल्याएका थिए ।