राघवेन्द्र मिश्र
कोरोना (कोभिड-१९) को चपेटामा परेको राष्ट्रहरुको संख्या दुई सय पुग्नै लागेको र विश्वको झन्डै ७ लाख जनसंख्या ग्रसित भइरहेको अवस्थामा नेपालमा पाँच जना मात्र रोगी देखापर्नु अचम्म नलाग्ने तथ्य होइन। सरकारलाई सधै शंकाको नजरले हेर्ने हाम्रो समाजमा हाल “हिमाल भाइ” जस्ता अडियो मेसेज र बुद्धिजीवी डाक्टरको बयानले सरकारप्रति झनै शंका बढाएको छ।
हुन त यी अफवाहहरु हुन भन्ने स्पष्टीकरण र अफवाह फैलाउनेलाई कारवाहीको समाचार पनि आइरहेका छन। तर हालको अवस्थामा ” के नेपालमा कोरोना भाइरसका रोगी नभएकै हुन त? नेपाल सरकारले वास्तविकता लुकाएकै हो?” जस्ता प्रश्न नउब्जाउने मस्तिष्क बिरलै होलान। यस लेखमा सरकारलाई विश्वास न/गर्ने सम्बन्धि केही तर्कहरु प्रस्तुत गरिएका छन्।
हुन त कोभिड-१९ को बारेमा पुर्ण जानकारी प्राप्त भइसकेको छैन। तर कोभिड -१९ माथी विश्व स्वास्थ्य सङ्गठन र चीनको संयुक्त मिसनको प्रतिवेदन अनुसार यो भाइरस सङ्क्रमित व्यक्ति बोल्दा, खोक्दा वा हच्छिउँ गर्दा मुखबाट निस्किने स-साना छिटा र सङ्क्रमित व्यक्तिसङ्गको नजिकको सम्पर्कबाट सर्ने गर्दछ। यद्यपि यो हावाबाट सर्ने गरेको प्रमाण छैन।
पहिले नै कुनैपनी व्यतिमा यो भाइरससङ्ग लड्ने प्रतिरोधात्मक क्षमता नभएको हुँदा जोसुकैलाई पनि यसले सङ्क्रमित पार्ने सम्भावना उत्तिकै हुन्छ। शरिरमा प्रवेश गरेको १ देखि १४ दिन भित्र लक्षण देखिने यस भाइरसको संक्रमण भएको करिब ९० प्रतिशत व्यक्तिलाइ ज्वरो र करिब ७० प्रतिशत व्यक्तिलाई सुक्खा खोकी देखिन्छ। लक्षण नै नदेखिने संक्रमीत व्यक्ती तुलनात्मक रुपमा कम हुन्छन भने सोमध्ये अधिकतमलाई पछि लक्षण विकसित हुने देखिएको छ। तसर्थ यस प्रतिवेदनले त्यस्ता रोगीलाई रोग सार्ने श्रोतको रुपमा लिएको छैन। प्रस्तुत प्रतिवेदनलाइ आधार मान्ने हो भने नेपालमा लक्षण नदेखिएका बिरामी धेरै छन भन्ने अफवाहलाइ ठाडै नकार्न सकिन्छ।
चर्चित पत्रीका “द ल्यन्सेट” ले प्रकाशित गरेको एक शोधका अनुसार वुहानजस्तै सर्ने वातावरण रहेको ठाउँमा चारजना मात्र स्वतन्त्र रोगिहरु भए कोभिड-१९ ले महामारीको रुप लिने सम्भावना ५० प्रतिशत हुन्छ। यस तथ्यले नेपालमा बिरामीहरु लुकेर रहेको, सरकारले तथ्यांक लुकाएको, बिरामिको मृत्यु भएको आदि सम्पुर्ण भनाइलाई अफवाह साबित गर्दछ।
घरभित्रै बस्नु कति उचित ?
उपरोक्त शोधका आधारमा चिनमा ‘लकडाउन’ गरेको एक हप्ता अगाडि एक व्यतिले प्रतिदिन दुइभन्दा बढी व्यक्तिलाई रोग सर्ने गरेको देखिएकोमा ‘लकडाउन’को एक हप्तापछि सो संख्या करिब आधा भएको देखियो। चिनको वुहान बाहेक अन्य प्रान्त र अन्य देशमा रोग फैलिनुको कारण मानवीय सम्पर्क तथा आवागमन रहेको पनि प्रमाणित भइसकेको छ। घरमै बस्दा समाजका अन्य व्यक्तिहरुसङ्गको सम्पर्क कम हुने हुँदा रोग सर्ने सम्भावना कम हुन्छ।यसो हुँदा संक्रमण नभएकाहरु संक्रमीत हुने र संक्रमितहरुले भाइरस अरुलाइ सार्ने सम्भावना कम हुन्छ। र अन्ततः रोग नियन्त्रण गर्न सजिलो हुन्छ। तसर्थ हाल देशमा महामारी नदेखिएको अवस्थादेखी नै आफ्नो आवागमन कम गर्न उचित देखिन्छ।
केही स्वस्थ्यकर बानी जस्तै अतिआवश्यक परिस्थितिभन्दा बाहेक घरबाहिर ननिस्किने वा कम निस्किने समय-समयमा हात धुने, सकेसम्म अनुहारमा हातले कम छुने, एकअर्कासङ्ग भौतिक दुरि बनाएर राख्ने इत्यादि अपनाएमा यो सङ्कट छिट्टै टर्नेछ। जनजिवन फेरि सामान्य हुनेछ। हाल राज्यसङ्ग कोभिडको महामारीलाई व्यवस्थापन गर्न पर्याप्त श्रोतसाधन नभएको अवस्थामा अहिलेदेखि नै सबैले सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ। स्वास्थ्य खबरपत्रिका बाट
– मिश्र चिकित्सा शास्त्र अध्ययन संस्थानको जनस्वास्थ्य केन्द्रिय विभाग अन्तर्गत जनस्वास्थ्य विषयमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छन्।