ऐजेन्सी
हेल्थ केयर कम्पनी एबोटले कोरोना भाइरसको द्रुतगतिमा परीक्षण गर्ने प्रणाली विकास गरेको छ। कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट परीक्षणलाई प्रमाणीकरण भएको जनाएको हो।
अमेरिकी कम्पनी एबोटले विकास गरेको प्रणालीले चाँडोमा ५ मिनेटमै भाइरस संक्रमणको टुंगो लगाइसक्ने बताइएको छ। सीएनबीसीका अनुसार उसले उक्त प्रणाली अर्को हप्ता हेल्थ केयर सेवा प्रदायकलाई दिनेछ। उक्त प्रणालीले नेगेटिभ रिजल्ट समेत १३ मिनेटमै प्रदान गर्नेछ। कम्पनीले आफ्नो परीक्षण सफल भएका कारण उत्पादन तीव्र पार्ने जनाएको छ। उसले प्रतिदिन ५० हजार परीक्षण गर्ने योजना बनाएको छ।
‘द कोभिड १९ महामारीविरुद्ध धेरै तरिकाबाट लड्न सकिन्छ, केही मिनेटमै परीक्षण गर्नसक्ने पोर्टेबल मोलिकुलर टेस्टले भाइरस रोकथामको विविध उपायलाई सघाउने अपेक्षा गरेका छौँ’, एबोटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) रोबर्ट फोर्डले विज्ञप्तिमा भनेका छन्।
एबोटको कोभिड १९ परीक्षणको यो दोस्रो परीक्षण हो। उसले हरेक महिना ५० लाख टेस्ट उत्दान गर्ने बताएको छ। अमेरिकाको इलिनोइसस्थित द लेक ब्लफमा रहेको कम्पनीले उपचारसम्बन्धी चिकित्सकीय डिभाइस र औषधिहरु उत्पादन गर्छ।
यसले कोरोना भाइरसको संक्रमण पत्ता लगाउने भए पनि क्लिनिकहरुमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको अभावका कारण बिरामीलाई सुरक्षित राख्न भने कठिन हुनसक्ने बताइएको छ।
खासगरी कोभिड १९ का बिरामीहरुलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले यो जटिल हुनसक्नेछ। चीनको वुहानबाट फैलिएको यो महामारी विश्वव्यापी बन्दा संक्रमित संख्या ६ लाख पुग्न लागेको छ भने २७ हजार बढीले यसकै कारण मृत्युवरण गरिसकेका छन्।


 
					
							 
			 
                             
                             
                             
                             
                            