एकछाक खानलाई
एकमुठी दाना छैन
एकझरि पानी पर्दा
ओतलाग्ने छाना छैन
जीवन बैशालु नहुँदै
फुल झैं ओइलाउँछ
पात झैं झर्छ ।। १ ।।
अक्सर
पचास पचपन्नको
वय ननाघ्ने
उनीहरूको पुस्तावारी
समयको सुविधाले
आजको दिनमा
धेरथोर फेरिएपनि
मनमोहन बाजेले
दिएको सुुविधा लिन
वयमा अझ थप
हेरफेर आउनुपर्छ ।। २ ।।
पुस्तावलीय
कर्मकाण्डको
बिडा थामेर
माघे ठिही नभनी
लुगलुग काँप्दै
उनीहरू माटोमा
जीवनको रंग घोल्थे
जेठको लु नभनी
तरतर पसिना बगाउँदै
शिल्पको चाँद भर्थे ।। ३ ।।
श्रमको पारख र
शिल्पको मुर्धन्यतामाथि
बाँचेका उनीहरूलाई
मेरो होस्ल्याङे
परजीवी समाजले
शिल्पको गौरवमा
गुलजार हुन दिएन
अपमानको डण्डाले
बेस्मारी पिटिरह्यो
बेचैनी बनाईरह्यो ।। ४।।
सम्मान सर्वथा हो
अचेल उनीहरू
शिल्पको
चाँद भर्दैनन्
माटोमा जीवनको
रंग घोल्दैनन्
बरू
दिगम्बर भएपनि
चिसो भुइँमा
आसमान ओढेर
जिन्दगी जीउन
विवस छन् ।। ५ ।।
०७८ माघ २१ , सानीभेरी रूकुम पश्चिम ।