सानीभेरी ५ मा खानेपानी र सिँचाई आयोजना निर्माण

सानीभेरी ५ मा खानेपानी र सिँचाई आयोजना निर्माण

मुसिकोट । सानीभेरी गाउँपालिकाको वडा नम्वर ५ मा सिँचाई र खानेपानी योजना निर्माण गरिएको छ । योजना सम्पन्न पश्चात धनेखोलाको घरघरमा खानेपानी र बल्लेबासमा सिँचाई सुविधा पुगेको छ ।

सिँचाई र खानेपानीको समस्या रहेको वडामा पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा) द्वारा योजना निर्माण गरिएको हो ।

वडा नम्वर ५ को बल्लेबास पाईप सिँचाई उपआयोजना र धनेखोला मुहान संरक्षण तथा खानेपानी उपआयोजना निर्माण सम्पन्न गरिएको आशा आयोजनाका जिल्ला आयोजना संयोजक खिमराज वलीले बताउनुभयो । उहाँका अनुसार आशा आयोजनाको ११ लाख ९१ हजार १०३ र स्थानीय समुदायको २ लाख ९७ हजार ७७६ रकम बराबरको श्रमदानबाट सिँचाई उपआयोजना आयोजना सम्पन्न गरिएको हो ।

उक्त आयोजनाबाट करिब १०४ रोपनी जमिनमा सिँचाई सुविधा पुग्ने लापा समुहका अध्यक्ष भिमबहादुर कुसारीले बताउँनुभयो । उहाँका अनुसार यस उप आयोजनाबाट १४ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

त्यसैगरी धनेखोला मुहान संरक्षण तथा खानेपानी आयोजनामा आशा आयोजनाको ७ लाख ११ हजार ८९२ रकम लगानी भएको छ । जनश्रमदानबाट भने १ लाख ७७ हजार ९७३ बराबरको लगानी भएको छ । खानेपानी उपआयोजनाबाट १९ घरधुरी लाभान्वित हुने स्थानीय उपभोक्ता दिपक बाँठाले बताउँनुभयो । उहाँले यसै आयोजनाबाट घर घरमा धारा लगिएको समेत जानकारी दिनुभयो ।

शनिबार वडा अध्यक्ष लालबहादुर खत्री, पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा) आयोजनाका जिल्ला आयोजना संयोजक खिमराज वली, इन्जिनियर आकाश उपाध्याय, मिल अधिकृत गोकर्ण खड्का, सामाजिक परिचालन अधिकृत केशव कुमार बिसी लगायत अन्य प्राविधिकहरुको टोलीले निर्माण सम्पन्न भएको आयोजनाको अनुगमन तथा निरिक्षण गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार