चुनावको लागि आवश्यक श्रोत व्यवस्थापन भईसकेको छ : अर्थमन्त्री शर्मा

चुनावको लागि आवश्यक श्रोत व्यवस्थापन भईसकेको छ : अर्थमन्त्री शर्मा

मुसिकोट । अर्थमन्त्री जनार्दन शर्माले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि अर्थ मन्त्रालयले श्रोतको व्यवस्थापन गरिसकेको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा चुनावको लागि आवश्यक श्रोतको व्यवस्था गरिसकेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

सोमबार गृह जिल्ला रुकुम पश्चिमको सल्ले बिमानस्थलमा नेपाल पत्रकार महासंघ रुकुमले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री शर्माले राष्ट्रिय राजनीति चुनावमा केन्द्रीत भएको बताउँनुभयो । सरकारले चुनावको मिति घोषणा गरेसँगै सबै दलहरु आन्तरिक प्रशिक्षण, सभा तथा भेलासँगै उम्मेदवार छनौटमा लागिपरेको उहाँले बताउनुभएको छ ।

मन्त्री शर्माले आफु गठबन्धन सरकारको मन्त्री बताउँनुहुदै वर्तमान अवस्थामा गठबन्धनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । ‘संविधानको रक्षा र जनताको अधिकारको लागि गठबन्धन जरुरी भएर सरकार बनेको हो,’ मन्त्री शर्माले भन्नुभयो ‘बिभिन्न कालखण्डले गठबन्धन सरकारको सस्कृति आवश्यकता रहेको पुष्टि गर्दै गईरहेका छन् ।’

आसन्न स्थानीय तहको चुनावको लागि पार्टीको केन्द्रीय निर्णय भएमा मात्र गठबन्धनको बिषयमा स्पष्ट भन्नसकिने उहाँले जनाउँनुभयो । रुकुममा माओवादी केन्द्र अन्य दलसँग सहकार्यका लागि तयार रहेको बताउँनुहुँदै उहाँले चुनावी सहकार्य नभएमा पनि एक्लै प्रतिस्पर्धा गर्न तयारी अवस्थामा रहेको जनाउँनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु राजकुमार शर्मा, गोपाल शर्मा, बसन्त शर्मा, लक्ष्मी पुन, पार्टीका जिल्ला संयोजक गोबिन्द रोका, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे लगायतको उपस्थिति रहेको थियो । महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पत्रकार सम्मेलनको सञ्चालन महासंघका सदस्य परिचन्द्र खत्रीले गर्नुभएको थियो भने स्वागत दिपेन्द्र महताराले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार