टिपरमा आगजनी

टिपरमा आगजनी

आज बिहानै दाङमा एउटा टिपरमा आगजनी भएको छ। घोराही–लमही सडकखण्ड अन्तरगत घोराहीको बबई खोला पुल नजिकै कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो।

बिहान साढे ४ बजेतिर उक्त टिपरमा आगजनी भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।  प्रहरीले टिपरका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।

चालक राप्ती गाउँपालिकाका २८ बर्षीय अरुण चौधरी र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको उनले बताए।

चालक र सहचालकले पाँच जनाको समूहमा आएका बन्दकर्ताले टिपर आगो लगाएर भागेको बताएका छन्। तर प्रहरीले घटना शंकास्पद रहेको बताएको छ। उक्त टिपर बिग्रेर मर्मत गर्न दुई दिन अघि मात्रै ग्यारेजमा लगिएको थियो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चालक र सहचालकले टिपरमा आगजनी भएको खबर प्रहरीलाई नदिएको बताए। ‘अर्कै गाडीका चालकहरूले प्रहरीलाई खबर गरेका हुन्,’ उनले भने।

चालकले टिपर धनीलाई पनि जानकारी नदिई टिपर देउखुरीस्थित आफ्नो घरतिर लैजान खोजेको पाइएको प्रहरीले बताएको छ।

आगजनीबाट टिपरको अगाडिको भाग जलेको छ। आगजनी भएको खबर पाउना साथ प्रहरी घटनास्थल पुगेको थियो।

यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आफूहरूले शान्तिपूर्ण ढंगले बन्द गरेको बताए। टिपर आगजनीको कुनै कार्यक्रम नरहेको उनले दाबी गरे।

प्रहरीले तुलसीपुर र घोराहीबाट आठ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार