बैशाख १० सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत १० जिल्लाका कार्यालय प्रमुखलाई काम अघि बढाउन निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका शाहीले आज १० जिल्लाका भौतिक विकास कार्यालयका प्रमुखसँग गरिएको भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिए । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को जोखिमबाट बच्न सावधानी अपनाउँदै सीमित जनशक्ति प्रयोगबाट गर्न सकिने काम सामाजिक दूरी कायम राखी नियमित गर्न उनले कार्यालय प्रमुखलाई सुझाए ।
मुख्यमन्त्री शाहीले भने, “सम्पूर्ण कार्यालय प्रमुखले कोरोनाबाट उच्च सावधानी अपनाएर विकास निर्माणका कार्यालयलाई निरन्तरता दिनुस् । आगामी आर्थिक वर्षको योजनाको निर्माणको पनि तयारी गर्नुस् ।” उनले १० वटै जिल्लाका कार्यालय प्रमुखसँग हालसम्म भएका विकास निर्माणका कामका बारेमा समेत जानकारी लिए । रासस