जो दशकपछि दसैं मनाउन घर फर्किए

कर्णालीमा दसैंको चहलपहल

जो दशकपछि दसैं मनाउन घर फर्किए

कर्णालीमा दसैंको चहलपहल

फाईल तस्बीर

दैलेखको नौमुले गाउँपालिका–४ का ३९ वर्षीय उदय बुढा ७ वर्षकै उमेरमा ३२ वर्षअघि भारत गएका थिए । बुवा सतमानले भारतीय सेनामा जागिर खाएपछि उनको ५ जनाको परिवार भारतको गोरखपुर बसाइ सर्‍यो । उनले भारतमै इन्जिनियरिङ पढे र २०६१ सालमा जागिरको लागि दुबई पुगे ।

त्यसबीचमा उनी बाबुआमासँग ५/७ पल्ट नेपाल आए । ‘दसैंको १०/१५ दिनअघि आएर तिहार मनाएर फर्किन्थ्यौं,’ उनले भने, ‘त्यो बेला दसैंमा खुब रमाइलो हुन्थ्यो, लिंगे पिङ खेल्थ्यौं, नाचगान चल्थ्यो, गाउँभरिका मानिसहरु जम्मा भएर डोरी तान्ने र छेलो खेल्ने प्रतियोगिता आयोजना गरिन्थ्यो, छेलोमा त म २ पल्ट प्रथम भए ।’ बुढाले दुबईमै उनकै कम्पनीमा कार्यरत भारतीयमूलकै इन्जिनियर सीमा लाडवानीसँग विवाह गरे । तर १३ वर्षअघि बुबा सतमानको मृत्युपछि भने उनी नेपाल आएका थिएनन् । अहिले बुढा दम्पत्तीले भारतमै इन्जिनियरिङ कन्सल्टेन्सी चलाइरहेका छन् । ‘बुबाको मृत्युपछि १/२ वर्ष त बुबाकै मृत्युको शोकमा भयौं, त्यसपछि यहाँ आउन खोजेपनि कहिले कम्पनीको कामले आउन सकिएन त कहिले कोरोना महामारीले समस्या भयो,’ पत्नी, १२ वर्षीय छोरा र ९ वर्षीया छोरीसहित दैलेख जान लागेका उनले भने, ‘आफू जन्मिएको पवित्र भूमि र पूर्खाको थातथलो सजिलै कहाँ बिर्सन सकिन्छ र ?’

उनकी आमा ६१ वर्षीया पम्फा बुढा पनि उनीहरुसँगै १३ वर्षपछि नेपाल आएकी छिन् । उनलाई गाउँ कतिबेला पुगिएला भन्ने हतारो छ । ‘गाउँको हालखबर त आफन्तहरुसँग फोनमा पनि सोधिन्थ्यो, तर आँफैले देख्दा फरक आनन्द हुन्छ,’ उनले भनिन्, ‘धेरैपछि आइएको छ अब तिहार मनाएर फर्किन्छौं ।’ उनका अनुसार भारतमै जम्मिएका उनका नातिनातिनीका लागि यो नेपालको पहिलो दसैं हो ।

भारतमै ठेक्कापट्टा गर्दै आएका सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–९ का ५१ वर्षीय आसवीर ओली १७ वर्षपछि आफ्नो गाउँमा दसैं मनाउँदैछन् । भारतको मुम्बईमा बस्दै आएका उनी १६ वर्षको उमेरमा भारत पसेका थिए । साथीहरुको लहैलहैमा कक्षा १० मा पढ्दापढ्दै मुम्बई गएका उनले त्यसैलाई कर्मथलो बनाए, घर बनाए र त्यही विवाह पनि गरे । २ छोरामध्ये २९ वर्षीय छोरा इन्द्र भारतकै एक अस्पतालमा कार्यरत छन् भने २६ वर्षीय कान्छो छोरा जितेन्द्र कतारमा टुरिष्ट गाइडको काम गर्छन् । ‘दुबै छोराहरुको जागिर नै चाडबाडमा बिदा नपाइने भयो, दुबैको बिदा कहिल्यै एकैपल्ट नमिल्ने,’ उनले भने, ‘कोरोनाको बेला बिदा मिलेको थियो, तर त्यो बेला नेपाल आउन सकिएन, यसपालि आफन्त र पुराना साथीभाइसँग धित मरुञ्जेल रमाइलो गर्ने, घुम्ने र नाचगान गर्ने रहर छ ।’

देशबाहिर रहेकाहरु मात्र होइन नेपालमै रहेकाहरुले पनि लामो समयपछि दसैं मनाउँदैछन् । नेपाली सेनामा कार्यरत रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ का टिकाराम खड्का ११ वर्षपछि दसैं मनाउन घर आएका छन् । कोरोना महामारीका कारण ३ वर्ष त उनले बिदा नै पाएनन् । एकपल्टको दसैंमा शान्ति सेनामा थिए भने २ वटा दसैं आमा र बुबा बितेपछि रोकिए । ‘छोराछोरी साना छन्, टाढाको बाटो भएकाले ल्याउनै समस्या,’ पत्नी शान्ति, ६ वर्षका छोरा र ४ वर्षीय छोरीसहित घर आएका उनले टेलिफोनमा भने, ‘आफ्नो गाउँमा र अरु ठाउँमा दसैं मनाउदा आकासपातालको फरक हुँदो रहेछ ।’ उनले यो वर्ष गाउँका पुराना दौतरीसँग मिलेर गोगनपानीमा लिंगेपिङ बनाएका छन् भने साथीभाइ र आफन्तसँगको भेटघाटमै एक साता बितेको छ ।

शनिबार दिनभर टिकाराम र उनका साथीहरुले टप्पा गाएर र सिंगारु नाचे । गाउँमै रमाइलो गरे ।सोलुखुम्बु पुर्ख्यौली घर भएकी उनकी पत्नी शान्ति पनि पहिलोपल्ट पश्चिमे दसैंमा रमाइरहेकी छिन् । ‘यहाँ त दसैंसँगै नाचगान सुरु हुने रहेछ,’ उनले भनिन्, ‘यही आएर मैले पहिलोपल्ट पिङ खेले ।’

दसैं पर्व मात्र नभएर सामाजिक सद्भाव जनाउने सुत्र बनिसकेको वीरेन्द्रनगरस्थित सनातन धर्म संरक्षण केन्द्रका अध्यक्ष दीर्घप्रसाद उपाध्याय बताउँछन् । ‘दसैंकै निहुँमा वर्षौंपछि एकआपसमा आफन्त र साथीभाईसँग भेटघाट भएको छ, जसले हाम्रो भातृत्व र आत्मीयपन जोगाइराखेको छ,’ उनले भने, ‘यो पर्वले हामीलाई सकारात्मक उर्जा दिएको छ, जसबाट हामीले सुख, समृद्धि र शान्तिको मार्गमा जाने प्रेरणा पाइरहेका छौं ।’ दसैं पूजाका विधि र संस्कारहरु वैज्ञानिक भएकाले यसलाई सामाजिक मान्यताको रुपमा स्थापित गर्नुपर्ने पुरोहित दुर्गाप्रसाद सापकोटाले बताए ।

बक्स : ‘वर्षौर्देखि आफन्त कुरिरहेको दसैं’

भेरीगंगा नगरपालिका–३ छिन्चुकी चन्द्रकली खड्काले १७ वर्षदेखि दसैं मनाएकी छैनिन् । छोरा मानबहादुरलाई २०६२ साल मंसिर ५ गते उनका तत्कालीन माओवादीले अपहरण गरेर लिए । त्यसयता छोराको लास वा सास कुर्दै उनले दसैं मनाउन नसकेकी हुन् । ‘छोरा अझै आउँछ कि भन्ने आश छ,’ उनी भन्छिन्, ‘मेरै आँखा अगाडि लछारपछार गर्दै लगे, छोराको खोजी र न्यायका लागि अझै पनि लडिरहेको छु, हरेक दसैं उसकै यादमा रोएर बित्छन्, ऊ नभए कसरी चाडबाड मनाउने ?’

कालीकोटको शुभकालिका गाउँपालिका–२ भर्ताकी राजु शाहीलाई पनि दसैं आएपछि पति हंश शाहीको वियोगको पीडाले पोल्छ । ‘अब त चाड पनि किन आउँछजस्तो भइसक्यो,’ उनले भनिन्, ‘दसैं आएपछि अरुका घरहरु उल्लास हुन्छ, हामी ५ जनाको परिवारको दसैं रोएरै बित्छ ।’ अरुका लागि खुसी ल्याउने दसैंले आफूहरुलाई पुरानो पीडा बल्झाउने उनले बताइन् । उनका अनुसार घरमूली नहुँदाको पीडा चाडपर्वमा झन् बढी हुन्छ । ‘अरुले त एउटा घटना भन्छन्, १/२ दिनपछि बिर्सिन्छन्,’ उनले भने, ‘हामीलाई भने अभिभावक नहुनुको पीडा र चाडपर्वमा खुसी साट्न नपाउँदाको पीडाले जिन्दगीभरि पिरोल्छ, अब उनीहरुलाई सम्झिसम्झि जीवन विताउनुको विकल्प छैन ।’

बेपत्ता भएका व्यक्तिहरुको छानबिन आयोगमा कर्णालीका ९९ जनाले निवेदन दिएका छन् । चाडपर्वले द्वन्द्वपीडित र बेपत्ता पारिएका पुराना घाउहरु बल्झिने अधिकारकर्मी टीका विष्ट बताउँछिन् । ‘चाडपर्वमा मुख्यतयाः आपसमा मायाममता र खुसीयाली नै साटिन्छ,’ उनले भनिन्, तर बेपत्ताका परिवारमा मानवीय संवेदना पनि गहिरोसँग जोडिएको हुन्छ, उनीहरुको आँशु चाडपर्वकै बेला बढी बग्ने गरेको छ, कतिपय बेपत्ताका आफन्तले त त्यही बियोगको स्मृतिमै चाडबाड मनाउन छोडिसकेका छन् ।’ आजको कान्तिपुर दैनिकबाट

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार