आजदेखि चुनाव प्रचारको समय सुरु

आजदेखि चुनाव प्रचारको समय सुरु

फाईल फोटो ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरुले आज (बिहीबार)देखि खुला प्रचार गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बिहीबार (कात्तिक १७ गते)देखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ।

खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरुको चुनावी दौडाहा पनि सुरु भएको छ। निर्वाचनका लागि अब १७ दिन बाँकी छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसार समेत गर्न सकिने आयोगको भनाइ छ ।

आयोगले आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गरेको छ ।

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने पनि आयोगले स्पष्ट गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार