भोट माग्न घरदैलोमा स्वतन्त्र उम्मेदवार रावल

भोट माग्न घरदैलोमा स्वतन्त्र उम्मेदवार रावल

रुकुमकोट । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार यति बेला घरदैलोमा व्यस्त रहेका छन। प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त रहेका हुन ।

यस्तै रुकुम पूर्व प्रदेश सभा (२) का स्वतन्त्र उम्मेदवार केशव रावल यतिबेला चुनावी घरदैलो अभियानमा व्यस्त रहनु भएको छ । आफ्ना चुनावी एजेण्डाहरु मतदाता समक्ष राख्दै रावलले घरदैलो अभियानलाई तिब्रता दिनुभएको छ ।

सोमबार रावलले जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनवाङका विभिन्न टोलहरुमा पुगेर मतदाताहरु सँग भेटघाट गर्नुभएको छ । भेटघाटको क्रममा मतदाताहरुको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको उम्मेदवार रावलले बताउनुभयो ।

उहाँले  आफ्नो एजेण्डाको पक्षमा मतदाताहरुको पूर्ण साथ र समर्थन रहेको समेत बताउनुभयो । सर्वसाधारणहरुले विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, राजनीतिक विकृति लगायतका विषयमा गुनासो समेत राखेको उहाँले बताउनुभयो ।

स्वतन्त्र उम्मेदवार रावलले आफनो निर्वाचन क्षेत्रका विभिन्न वडाहरुमा पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।

यस्तै रावललाई स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्णजंङ सिंहले समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराउनु भएको छ । सिंहले सो क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी निष्कृय गर्दै रावललाई समर्थन गर्नु भएको हो ।

स्वतन्त्र उम्मेदवार रावल र आफ्नो एजेन्डा मिलेपछि आफूले आफ्नो उम्मेदवारी निष्कृय गर्दै रावललाई समर्थन गरेको सिंहले बताउनुभयो ।

रावल र सिंह नेकपा माओवादी केन्द्र निकट हुनुहुन्छ । रावल अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । उहाँले पार्टि बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । रावल जिप चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका धनबहादुर केसी, नेकपा एमालेबाट भावना बुढाथोकी, राप्रपाबाट केशव चन्द्र समाल, मंगोल नेशनल अर्गनाइजेशनबाट लेखन बुढा र स्वतन्त्रबाट नरहरि खड्का चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार