मुसिकोट । रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । आईतवार दिउँसो जिल्लाको बाँफिकोट गाउँपालिका ७ बाँसथलामा पहिरो खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
घारीखोला भन्दा माथिको भिरालो ठाउँमा घाँस काट्ने क्रममा पहिरोसंगै खस्दा स्थानीय दुई स्थानीयको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका ७ का ४४ वर्षीय काली बहादुर खड्का र सोही ठाउँकी ४५ वर्षीया धनमाया खत्री रहेकी छन । दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर सोही स्थानकी ४२ वर्षीया बलकुमारी खत्री घाइते हुनु भएको र उहाँको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको जनाईएको छ ।
घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसंगै खसेको प्रहरीले जनाएको छ । तीनै जना करिब ५ सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।