बालविवाह रोक्न जैसी र पण्डितकाे सामुहिक प्रतिबद्धता

बालविवाह रोक्न जैसी र पण्डितकाे सामुहिक प्रतिबद्धता

मुसिकाेट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा बाल विवाह राेक्न सामुहिक प्रतिबद्धता गरिएको छ ।

सानीभेरी गाँउपालिकाले पालिका क्षेत्र भित्र रहेका धर्मगुरु, जैसी तथा पण्डित र सरोकारवालाहरुसँगको छलफल पश्चात बाल विवाह बिरुद्ध सामुहिक प्रतिवद्धता गरिएको हो ।

समाजमा परम्परागत रुपमा रहेका गलत अभ्यास जानकारी गराउन र बाल विवाह न्यूनिकरण गर्न सरोकारवालाहरुको भेला गरेर सामुहिक प्रतिबद्धतामा हस्ताक्षर गरिएको सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानबिर ओलीले जानकारी दिनुभयो ।

प्रतिबद्धतामा २० वर्ष उमेर नपुगेर गरिने विवाह कानूनी रुपमा दण्डनिय हुने र बाल विवाह गर्नु अपराध भएकोले यस्तो कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न नहुँने कुरा उल्लेख छ ।

प्रतिबद्धता गर्नु अघि गाउँपालिकाले पालिका भित्र रहेका जैसी तथा ब्राह्मणलाई भेला गरेर बाल विवाहको अवस्था र कानूनी व्यवस्था बारेमा अभिमुखिकरण दिएको थियो । समाजमा विवाहको क्रममा जैसी तथा ब्राहमण बोलाउने प्रचलन रहेको छ ।

उमेर नपुगेका बालबालिकाहरुको चिना तथा साईत हेर्न र विवाहको कार्य बन्देज गर्न उहाँहरु सहमत भएको बाल अधिकार अधिकृत ओलीले बताउनुभयो । त्यस्तो कार्य हुने गरेको पाईएमा गाउँपालिकामा सूचना दिन समेत उहाँहरु सकारात्मक रहेको बताईएको छ ।

रुकुम पश्चिमका ६ स्थानीय तह मध्य सानीभेरी गाउँपालिकामा बाल विवाह बढी मात्रामा भएको बताईन्छ । गाउँपालिकाले गत वर्ष संकलन गरेको विवरण अनुसार ५४ प्रतिशत बाल विवाह सानीभेरीमा हुने गरेको छ ।

प्रतिबद्धता कार्यक्रममा गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट, उपाध्यक्ष कमला राेका, प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकी, वडा अध्यक्ष, जैसी, पण्डित लगायत विभिन्न सराेकारवाला निकायहरुकाे सहभागी रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार