भारतले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण गर्न १० अर्ब अनुदान दिने

भारतले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण गर्न १० अर्ब अनुदान दिने

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ।

बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशबीच भएको ऊर्जा व्यापार सम्झौताअनुरुप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान दिने भएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भारतीय अनुदानबारे जानकारी दिए। उनले दुई देशका ऊर्जा सचिवबीच भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताए।

नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्यु स्पेस इण्डिया लिमिटेडबीच नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ।

त्यसैगरी काठमाडौँस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्नसक्ने सहमति पनि भएको जानकारी उनले दिए।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १३२ किवा पावर क्षमताका तीन वटा प्रशारण लाइनको उद्घाटन भएको बताए।

उनले भैरहवा, रक्सौल–परवानीपुरको सेकेण्ड सर्किट र कुसाहा–कटैता सेकेण्ड सर्किट लाइन उद्घाटन भएको उल्लेख गर्दै यसले नेपाल–भारतबीच ऊर्जा आदानप्रदानमा ठूलो सहयोग पुग्ने बताए।

घिसिङले ट्रान्समिसन लाइनका सम्बन्धमा भोलि चितवनमा ऊर्जा सचिव तहको बैठक बस्ने जानकारी पनि दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार