सिन्धुपाल्चोकका तीन स्थानीय तहले दिए भूकम्प पीडितलाई न्यानो कपडा

सिन्धुपाल्चोकका तीन स्थानीय तहले दिए भूकम्प पीडितलाई न्यानो कपडा

मुसिकोट । सिन्धुपाल्चोकका तीन स्थानीय तहले रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडितहरुलाई न्यानो कपडा सहयोग गरेका छन। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रीपुरा सुन्दरी गाउँपालिकाले रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित परिवारलाई राहत सहयोग गरेका हुन्।

भूकम्पबाट प्रभावित रुकुम पश्चिम र जाजरकोटका पीडितलाई जाडो र चिसोबाट बच्नको लागि तीन स्थानीय तहले ३५ लाख बराबरको १५ सय परिवारको लागि १५ सय थान सिरक उपलब्ध गराइएको जनाइएको छ ।

बाह्रबिसे नगरपालिकाले १५ लाख बराबरको राहत सामग्री सहयोग गर्ने घोषण गरेसँगै बाह्रबिसेले रुकुम पश्चिममा २ सय ३ परिवारको लागि र जाजरकोटमा  ४ सय ४५ परिवारलाई सिरक वितरण गरेको बाह्रबिसे नगरपालिकाले जनाएको छ।

बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतले भन्नुभयो, ‘हामीले जाजरकोट र रुकुम पश्चिममा भुकम्प गएपछि नगरबाट सहयोग गर्ने घोषण गरेका थियौं। त्यही अनुसार राहत लिएर गएका हौं। अहिले हामीले पीडित परिवारलाई एक थानका दरले सहयोग गरेको हो।’ बाह्रबिसे नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमको लागि ६ सय ५४ थान सहयोग गरेको बताउनुभयो ।

त्यस्तै भोटेकोसी गाउँपालिकाले रुकुम पश्चिममा २ सय परिवारलाई सहयोग गरेको छ भने, जाजरकोटको प्रभावित परिवारलाई २ सय ३० थान सिरक सहयोग गरेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्ब शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी आफैं पीडित तथा प्रभावित क्षेत्रमा आएर सहयोग गरेका छौं, हामीले दिएको सहयोग प्रत्यक्ष पीडित परिवारले पाएका छन ।

त्यस्तै त्रीपुरा सुन्दरी गाउँपालिकाले पश्चिम रुकुममा ३ सय ५० थान र जाजरकोटमा ८० थान न्यानो सिरक दिएको त्रीपुरा सुन्दरी गाउँपालिकाले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार