मोटरेबल पुल उद्घाटन

मोटरेबल पुल उद्घाटन

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१ र बाँफिकोट गाउँपालिका –१० जोड्ने मोटरेबल गाराघाट पुल उद्घाटन भएको छ ।

आईतबार पूर्व अर्थमन्त्री एवम् प्रतिनिधी सभा सदस्य जनार्दन शर्माले  पुलको उद्घाटन गर्नुभएको हो । तीन वर्षमै सम्पन्न गर्ने गरी सम्झौता भएको गाराघाट पुल आठ वर्षपछि निर्माण हो ।

सडक डिभिजन कार्यालय चौरजहारी मार्फत आर्थिक वर्ष ०७२/०७३ मा गाराघाट पुल निर्माणको ठेक्का खोलिएको थियो । भ्याट रकम बाहेक आठ करोड ५० लाख ४८ हजार ७७८ रुपियाँमा काम सम्पन्न गर्नेगरी नागार्जुन कन्ट्रक्सन कम्पनीले तीन वर्षमै निर्माण सम्पन्न हुने गरेर २०७३ असार ३१ गते सम्झौता गरेको थियो ।

सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख तेजस्वी शर्माका अनुसार सम्झौता गर्दाको बेला पुलको डिजाईन ‘पायल’ फाउण्डेशनमा आधारित थियो । तर यो फाउण्डेशनबाट उक्त स्थानमा पक्कि पुल सम्भव नभएपछि बदलेर ‘ओपन’ फाउण्डेशन डिजाईन गरिएको थियो । डिजाईन परिवर्तनपछि काम तिब्र पारेर पुल निर्माण सफल भएको डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो ।

निर्माण कम्पनीले विगतमा फाउण्डेशन परिवर्तनमा ढिलाई भएको, कोरोना लगायतका महामारीले सामाग्री ढुवानी र कामदार परिचालनमा समस्या भएकोले समयमै पुल निर्माण हुन नसकेको जनाएको थियो । भेरीनदिमाथि पुल नहुँदा विशेष गरेर वर्षायाममा सर्वसाधारणहरुलाई आउजाउ र दैनिक उपभोग्य सामाग्री ढुवाानीमा समस्या हुने गरेको थियो । पुल निर्माण सम्पन्न भएसँगै अब रुकुम पश्चिम, जाजरकोट र डोल्पाका स्थानीयलाई यात्रामा सहज हुने छ ।

बाँफिकोट गाउँपालिक अध्यक्ष जनक कुमार बाँठा मगरको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा, पूर्व अर्थमन्त्री एवम् प्रतिनिधी सभा सदस्य जनार्दन शर्मा, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, आठविसकोट नगरपालिकाका प्रमुख रवि केसी, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त लगायत विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरु, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार