ए ! मैले क्रान्ति भन्दिनुपर्ने ?

ए ! मैले क्रान्ति भन्दिनुपर्ने ?

मलाई कसैले
सोध्यो भने
मलाई कसैले
जिज्ञासा राख्यो भने
किंचित मलाई
भन्न डर लाग्दैन
त्यो क्रान्ति थिएन
त्यो जनयुद्ध थिएन ।। १ ।।

किनकि
क्रान्ति हुँदो हो त
कमसल बस्तुभाउ झैं
सपनाहरू
सत्ताको हाटबजारमा
लिलाम हुँदैनथे ,

किनकि
क्रान्ति हुँदो हो त
सँगसँगै
क्रान्तिका नाममा हिडेका
एकथरी कमरेडहरू
सत्ताको ठेकेदार बन्दैनथे
जनयुद्धको सपना बेचेर
नव सामन्त बन्दैनथे ।। २ ।।

किनकि
सँगसँगै
क्रान्तिका नाममा हिडेका
उस्तै कमरेडहरू
आज यत्रतत्र
बेचैनी र लघुताभासी भएर
मरेतुल्य भई बाँच्दैनथे ।। ३ ।।

किनकि
क्रान्ति हुँदो हो त
क्रान्तिका नाममा
आधा ज्यान गुमाएका
काभ्रेका भक्ति राणा
हुम्लाका जगत बिश्वकर्मा
उपचार नपाएर
सडक पेटीमा मर्दैनथे ।। ४ ।।

किनकि
क्रान्ति हुँदो हो त
क्रान्तिका नाममा
सिन्धुपाल्चोकका घाइते
नैनबहादुर तमाङ ( क. जमिन )
उपचार नपाएर
सडक पेटीमा
तड्पितड्पि मर्दैनथे ।। ५ ।।

उपचारको अभावमा
पाकिरहेको घाउको
केहीबेर
दर्द समन गर्न
रक्सि पिउने
कयौं शिशिरहरूको कथा
बेग्लै छ ,

युद्धमा जीवनसाथी गुमाएर
पीरको मजेत्रो ओढेर
अँध्यारो शयनमा
विवशतामा रात गुजार्ने
कयौं शकम्बरीहरूको कथा
झनै कारूणिक छ ।। ६ ।।

पद , पावर र प्रतिष्ठा
सबै आफैमा थोपारेर
अवसरको सगरमाथामा
सत्ताबिलासको ध्वजा फरफराउँदै
कीर्तिमानी रच्नेहरू हो !
तिम्रा गद्दार कर्मतहरूलाई
ए ! मैले
क्रान्ति भन्दिनुपर्ने ? ।। ७ ।।

०८१ असोज ८ , रूकुम पश्चिम ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार