ग्लोबल आइएमई लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मुसिकोट । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको आयोजनामा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

आइतबार राडीज्युला शिक्षा क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा १७५ जना स्थानीय सहभागी थिए। ग्रामीण क्षेत्रका बासिन्दालाई वित्तीय सचेतना र आर्थिक जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा राडीज्युला शिक्षा क्याम्पसका प्रमुख तेजबहादुर मल्लले नियमित बचतको बानीले आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो। उहाँले भने, “सानो रकमबाट सुरु गरिएको बचतले दीर्घकालीन आर्थिक स्थिरता ल्याउँछ।”

इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रमुख गणेश खनालले वित्तीय जागरूकताले आर्थिक ठगी र जोखिमबाट बच्न सकिने उल्लेख गर्दै वित्तीय साक्षरताको महत्त्वमा जोड दिनुभयो।

आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर बटालाले वित्तीय सचेतनाले कर्जाको सही उपयोग, लगानीको विविधीकरण र आर्थिक क्षमताअनुसार कारोबार गर्न प्रेरित गर्ने बताउनुभयो। उहाँले संस्थाले प्रदान गर्ने सेवाहरूबारे स्पष्ट भएर कारोबार गर्न र यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। “यस्ता कार्यक्रमले समाजमा वित्तीय जागरूकता फैलाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँछ,” उहाँले थप्नुभयो।

ग्लोबल आइएमई लघुवित्तका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख वसन्त सुवेदीले सहभागीहरूलाई बचत, कर्जा व्यवस्थापन, पारिवारिक बजेट, बीमा, विप्रेषण, डिजिटल बैंकिङ र वित्तीय ठगीबाट बच्ने उपायबारे प्रशिक्षण दिनुभयो। वित्तीय ज्ञान, सीप र व्यवहारिक सक्षमता अभिवृद्धि गरी आर्थिक विवेकशीलता र सही वित्तीय निर्णयमा सहयोग पुर्‍याउने कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा बचतका तरिका, कर्जा लिनुअघि ध्यान दिनुपर्ने कुरा, बजेट निर्माण, बीमाको महत्त्व, डिजिटल बैंकिङको सुरक्षित प्रयोग, लगानीका अवसर, वित्तीय ठगीबाट बच्ने उपाय, आर्थिक योजना र विप्रेषणको उत्पादनमूलक उपयोगजस्ता विषय जानकारी गराईएकाे थियो । विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बनाउन उद्यमशीलता र साना व्यवसायका लागि वित्तीय योजनाबारे पनि जानकारी दिइयो।

कार्यक्रमको सञ्चालन संस्थाका मसुरिया स्टेसन कार्यालयका अनुगमन अधिकृत सदनकुमार थारुले गर्नुभयो भने राडीबजार शाखा प्रमुख तपेन्द्रबहादुर थापाले स्वागत मन्तव्य राख्नुभयो।

सहभागीहरूले कार्यक्रमबाट वित्तीय सचेतना र आर्थिक व्यवस्थापनबारे महत्त्वपूर्ण जानकारी प्राप्त गरेको बताए। स्थानीयले भविष्यमा यस्ता कार्यक्रमको निरन्तरता माग गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार