काठमाडौँ । कैलालीमा कैदीको मृत्यु भएको घटनामा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन्।
बैंकिङ कसुर मुद्दामा कैलाली कारागारमा रहेका डडेल्धुराका हरिशसिंह पालीको असार २ गते राति उपचारको क्रममा मृत्यु भएको हो।
उनको मृत्यु भएपछि पीडित परिवारले हत्या भएको भन्दै सई नाथविरूद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दिएका थिए। किटानी जाहेरी आएपछि उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।
‘जाहेरी आएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं,’ उनले भने।
उनका अनुसार सई नाथ जिप्रकामै कार्यरत थिए।
उनी पालीविरूद्ध जाहेरीकर्ता समेत हुन्। बैंकिङ कसुर मुद्दामा नाथले नै पालीविरूद्ध जाहेरी दिएका थिए। त्यही कसुरमा असार १ गतेमात्रै उनी कारागार चलान भएका हुन्।
तर पालीको मृत्यु र नाथबीचको सम्बन्ध के छ भन्नेबारे खुलिसकेको छैन। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।
घटना शंकास्पद भन्दै विरोध सुरू हुनुका साथै आफन्तले शव बुझ्न नमानेपछि बुधबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवल्दार नरेश साउद र डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन्।