मुसिकोट । रुकुम पश्चिममा रहेको तरकारी बीउ उत्पादन केन्द्र चाँपाले एक वर्षमा २५ सय किलोग्रामभन्दा बढी तरकारीको बीउ उत्पादन गरेको छ ।
समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्र चाँपाले गत आर्थिक वर्ष २०८१/८२ मा मूल बीउ, उन्नत बीउ, र हाइब्रिड बीउ गरी कुल २५ सय ४८ किलोग्राम तरकारीको बीउ उत्पादन गरेको हो। केन्द्रले हाल १६ प्रकारका तरकारीका १८ जातका बीउ उत्पादन र बिक्री-वितरण गर्दै आएको जनाएको छ।
केन्द्रबाट ९ प्रकारका मूल बीउ, ८ प्रकारका उन्नत बीउ, र १ प्रकारको हाइब्रिड बीउ गरी कुल २,५४८ किलोग्राम बीउ उत्पादन भएको छ। केन्द्रले उत्पादन गर्ने तरकारीका बीउहरूमा प्याज, मूला, काउली, रायो, सलगम, केराउ (सिक्किमे र आर्केल), सिमी (चौमासे, कन्टेन्टर, र त्रिशूली), काँक्रो, टमाटर (सृजना र मनप्रेक्स), स्विसचार्ड, चम्सुर, धनिया, भिन्डी, र बोडी समावेश छन्। गत वर्ष उत्पादित बीउमध्ये भिन्डी र बोडीका दुई बाली भित्र्याउन बाँकी रहेको केन्द्रका प्राविधिक सहायक तथा सूचना अधिकारी टीकाराम ओलीले जानकारी दिनुभयो।
उहाँका अनुसार गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी तरकारीको बीउ उत्पादन भएको छ। केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा मूल बीउ १,१२२ किलोग्राम, उन्नत बीउ ४५१ किलोग्राम, र हाइब्रिड बीउ २ किलोग्राम उत्पादन गर्ने लक्ष्य राखेकोमा मूल बीउ १,९८९ किलोग्राम, उन्नत बीउ ५५९ किलोग्राम, र हाइब्रिड बीउ १.५ किलोग्राम उत्पादन भएको छ। अनुकूल मौसमका कारण सोचेभन्दा बढी बीउ उत्पादन भएको प्राविधिक सहायक ओलीले बताउनुभयो।
गत आर्थिक वर्षमा उत्पादित बीउको बिक्री-वितरणबाट २० लाख ३६ हजार ५७४ रुपैयाँ राजस्व सङ्कलन भएको ओलीले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बीउ बिक्री-वितरणबाट १५ लाख २९ हजार २० रुपैयाँ राजस्व सङ्कलन भएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष ३५.५० प्रतिशतले बढी राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो।
केन्द्रबाट उत्पादित विभिन्न जातका तरकारीका बीउ रुकुमसहित जाजरकोट, सल्यान, रोल्पा, सुर्खेत, तनहुँ, गुल्मी, दार्चुला, दाङ, चितवन, काठमाडौँलगायतका जिल्लामा बिक्री-वितरण गरिएको छ। केन्द्रको कुल ११७ रोपनी क्षेत्रफलमध्ये ८० रोपनीमा तरकारीको बीउ, विभिन्न तरकारीका नर्सरी, र हरियो मलको रूपमा ढैंचा खेती गरिएको छ।
यसका अतिरिक्त, केन्द्रले तरकारी बालीमा समस्यामूलक परीक्षण, तरकारी बीउ उत्पादक कृषकलाई सेवा प्रदान, उत्पादित बीउको गुणस्तर नियन्त्रण तथा सुपरिवेक्षण, र मानिसमा तरकारी खाने बानी बसालेर जीवनस्तर सुधार गर्ने कार्य गर्दै आएको छ। जनशक्ति र स्रोत-साधनको कमीले आधुनिक रूपमा बीउ उत्पादन गर्न कठिनाइ भए पनि यस वर्ष विभिन्न निकायबाट सहयोग प्राप्त हुने सम्भावना रहेकोले सुधार हुने अपेक्षा केन्द्रले गरेको छ।
तरकारी बीउ उत्पादन केन्द्र चापासँगै सहकारी तथा निजी क्षेत्रबाट पनि जिल्लामा तरकारीको बीउ उत्पादन हुने गरेको छ। जिल्लाकाे माछिमी, सोलाबाङ, छिवाङ, कौलेचौर, सिम्ली, साख, खोलागाउँ, चौरजहारीलगायतका ठाउँमा निजी स्तरबाट ठूलो परिमाणमा तरकारीको बीउ उत्पादन हुने गरेको छ।