दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ

दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । सिराहमा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन । जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका हुन।

सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । त्यहीबेला उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए ।

वडाध्यक्ष यादवका अलावा तोडफोड र लुटपाटमा संलग्न स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि जाहेरी परेको थियो । जाहेरी परेसँगै वडाध्यक्ष यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अन्यको खोजी कार्य जारी रहेको एसपी शर्माले बताए ।

१३ जनाविरुद्ध जाहेरी परे पनि अनुसन्धानबाट थप संलग्न व्यक्तिहरू पाइए उनीहरु माथि समेत कारबाही प्रक्रिया अघि बढाइने एसपी शर्माले बताए ।

अरङको ठूलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गरिरहेका पाँच घर दलितहरूको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको थियो ।

स्थानीय शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानको घर तोडफोड र लुटपाट भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार