मुसिकोट । रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला आज बिहानै देखि सुरु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका, ५–थर्पुमा रहेको डिग्रे साइकुमारी मन्दिर परिसरमा हरिबोधनी एकादशी देखी कार्तिक पुर्णिमाको दिनसम्म गरेर पाँच दिन लाग्ने यो मेला कर्णालीकै चर्चित मेलाको रुपमा लिईन्छ ।
शाईकुमारी भगवती मन्दिर व्यवस्थापन समितीका अध्यक्ष लालबहादुर केसीका अनुसार १९ गते पुर्णिमाको दिन मुख्य मेला लाग्नेछ । उहाँले शाईकुमारी भगवती देवी, सिद्ध बाबा मन्दिर डिग्रेमा वैदिक कालदेखी सनातन रुपमा हरिबोधनी एकादशी देखी कार्तिक पुर्णिमाको दिन मूल पर्वको रुपमा धार्मिक परम्परा देखि पुजा, पाठ, बोका बली दिदै आएको जानकारी दिनुभयो ।
यस वर्ष कातिक १५ गते हरीबोधन एकादशीका दिन तुलसीको विवाहसहित शुद्ध रुपमा बिशेष पुजापाठ गरिने, १६ गते द्धादशीका दिन पुजापाठ, बोका बली दिन सकिने, १७ गते त्रयोदशीमा पुजापाठ, बोका बली दिन सकिने अध्यक्ष केसीले बताउनुभयो ।
त्यसैगरी १८ गते चतुर्दशीका दिन पुजापाठ , बोका बली दिन सकिने छ र रात्रिमा जागाराम बस्न सकिने छ । १९ गते पुर्णिमाको दिन पुजापाठ र मेला लाग्ने, आकर्षक नाचगान हुने र अन्न, वरदान, धन र पुत्र वरदान, टिका ग्रहणका साथ मेलामा बिशेष झाँक्रीहरु प्रस्तुत हुने, परम्परागत सगाल नाच प्रस्तु हुने अध्यक्ष केसीको भनाइ छ ।
यस मन्दिरमा रुकुम पश्चिमसँगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ, सुर्खेतसँगै अन्य जिल्लाका भक्तजनहरू पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् ।
भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिको भनाई छ । डिग्रे साइकुमारी मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ ।


