विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको दाबी

विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको दाबी

काठमाडौँ । नेपाली कांग्रेसको आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ ।

शनिबार काठमाडौँको भृकुटीमण्डपमा  आयोजना गरेको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत पुगेको दाबी गरिएको हो । विशेष महाधिवेशनको माग गर्दा ५४.५८ प्रतिशतले हस्ताक्षर गरे पनि अहिले सङ्ख्या झनै बढेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।

उनले विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा थप खुल्दै गएको दाबी गरे । शिवाकोटीले २ हजार ४ सय ८८ जनाको हस्ताक्षरबाट सुरु भएको विशेष महाधिवेशनको मागलाई जिल्ला जिल्लाबाट साथ दिन प्रतिनिधिहरू आउँदै गरेको बताए ।

तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङ लगायतका जिल्लामा खुलेर प्रतिनिधि थपिएकाले सङ्ख्या बढेको उनको भनाइ छ । पार्टीको विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न लागेको हुँदा पार्टी फुटाउने नभई थप बलियो बनाउन विशेष महाधिवेशन अपरिहार्य रहेको नेता शिवाकोटीको जिकिर छ ।

महाधिवेशनको उद्घाटनको प्रमुख अतिथिका लागि सभापति शेरबहादुर देउवालाई निम्तो दिइएको छ । विशेष महाधिवेशनको पक्षमा नउभिएका नेता तथा केन्द्रीय सदस्यहरुलाई समेत निमन्त्रणा दिइएको छ । उद्घाटन समारोह भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे हुनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार