काठमाडौं । नेपाली कांग्रेसका नेता तथा रुकुमका पूर्ब जिल्ला विकास समितिका सभापति सहिद हरिभक्त ओलीको २७औँ स्मृति दिवस मनाएको छ।
आज दिवसको अवसरमा रुकुम पश्चिमकाे चौरजहारी र काठमाडौंमा बिभिन्न कार्यक्रम गरेर मनाइएको हाे ।
नेपाली कांग्रेस रुकुम–काठमाडौँ सम्पर्क समितिको आयोजनामा काठमाडौमा श्रद्धाञ्जली सभा गरिएको समितिका सचिव चिरञ्जीवी गिरीले जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, प्रदेश महामन्त्री एवं कांग्रेस संसदीय दल राष्ट्रियसभाका प्रमुख सचेतक कृष्ण बहादुर रोकाय, पूर्व राज्यमन्त्री एवं कांग्रेसका नेता गोपाल जि जङ शाह, जिल्ला सभापति एवम् सहिद पुत्र प्रेम प्रकाश ओली, नेपाली कांग्रेसका कर्णाली प्रदेश समिति सदस्य सीता ओली, जिल्ला उपसभापतिहरु सुरत जंग मल्ल र हर्क सिंह खत्री लगाएत नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले स्वर्गीय हरिभक्त ओलीको राजनीतिक योगदान, लोकतन्त्रप्रतिको प्रतिबद्धता तथा सामाजिक सेवाको स्मरण गर्दै उहाँको विचार आज पनि सान्दर्भिक रहेको बताएका छन्। सहिद ओलीले अंगालेको राजनीतिक विचार र मूल्यलाई आत्मसात गर्दै अघि बढ्न पार्टीभित्र एकता अपरिहार्य रहेको उल्लेख गरेका छन ।
यस्तै, रुकुम पश्चिमको चौरजहारीमा नेपाली कांग्रेस चौरजहारी नगर समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। कार्यक्रमको क्रममा सहिद हरिभक्त ओलीको तस्बिरमा माल्यार्पण गर्दै उहाँको राजनीतिक तथा सामाजिक जीवनमाथि चर्चा गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख यदुकुमार आचार्य, नगर सभापति प्रेमबहादुर ओली तथा नेपाल किसान महासंघ रुकुम पश्चिमका अध्यक्ष गणेशप्रसाद शर्माले सहिद ओलीको निस्वार्थ सेवा भाव, विकासप्रेमी सोच र जनतामाझको लोकप्रियता स्मरण गर्नुभयो।
नेपाली कांग्रेस रुकुमका सभापति समेत रहनुभएका हरिभक्त ओलीको तत्कालीन माओवादीद्वारा २०५५ माघ १ गते चौरजहारी नगरपालिका–२ स्थित बजार क्षेत्रमै हत्या गरिएको थियो।
यसै स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस चौरजहारीका उपसभापति गणेशमान डाँगीको नेतृत्वमा सहिद स्मृति अस्पतालमा फलफूल वितरण कार्यक्रम समेत गरिएको छ।

